जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार !

Posted on: 01 Jan, 2022

पुस १७, काठमाडौँ | जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ ।  एक वर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुवै सङ्ख्या अघिल्लो वर्षभन्दा बढी नै हो ।

यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको सङ्ख्या ११ छ । एक वर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकामा २३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताउनुभयो ।

उहाँले राज्यसँग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको बताउनुभयो । बेचविखनको बदलिँदा स्वरुपमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटना पनि देखिन थालेको कोइरालाको भनाइ छ ।

रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा पुगेका ३२२ जनाको अवस्था अज्ञात रहेको पाइएको छ । हराइरहेका व्यक्तिको अवस्था पत्ता लगाउन विदेशस्थित विभिन्न संस्था र निकायसँग समन्वय भइरहेको कोइरालाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!