पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु गर्यो उडान

Posted on: 14 Nov, 2020

कात्तिक २९, पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइट कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ ।  साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको हो । 

पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन विशेष छुटमा अल्ट्रालाइट आठ महिनापछि सञ्चालन गरिएको जानकारी दिनुभयो । “कात्तिक २६ गतेदेखि पोखरा विमानस्थलबाट उडान शुरु गरेकामा अहिले दैनिक चार उडान भइरहेको छ, स्वास्थ्य सतर्कतासहितका मापदण्डमा विशेष ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो । 

उहाँले पर्यटकीय गतिविधि सुस्ताएका समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहुलियत दिएर उडान गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले पाँच हजार ५०० मा अल्ट्रालाइट उडानको आनन्द लिन सकिनेछ । उहाँले विशेष छुट दिन थालेपछि पोखराबाहेकका जिल्लाबाट समेत सोधपुछ र बुक गर्न थालिएको बताउनुभयो । 

पोखरा प्राकृतिक सुन्दरतासँगै अनुकूल मौसमका कारण जोकोहीका लागि रोजाइको शहर हो । कोभिड–१९ को जोखिमबीच पनि साहसिक खेल पारखी पोखरामा झुम्न थालेका छन् । प्याराग्लाइडिङ कम्पनीले साबिक दरमा आधा छुट दिएर उडान गरेपछि अहिले पोखरामा प्याराग्लाडिङ गर्नेको घुइँचो लाग्न थालेको छ ।   

केही दिनअघि मात्र अल्ट्रालाइटबाट पोखराको आकाशमा उड्नुभएका गल्फ इन्नोभेशन ग्रुप पोखरा शाखाका प्रबन्धक सुजन श्रेष्ठले खुलेको मौसममा अल्ट्रालाइटबाट दृश्यावलोकन गर्दा निकै आनन्द लागेको बताउनुभयो ।  साहसिक खेलमा रुचि राख्ने श्रेष्ठले यसअघि बञ्जी जम्प, प्याराग्लाइडिङ, जीप फ्लायर, स्विङ, ¥याफ्टिङ गरिसकेको र अरूभन्दा अल्ट्रालाइट अझ विशेष लागेको अनुभव सुनाउनुभयो । “अरूभन्दा यसमा बेग्लै अनुभूति भयो, अल्ट्रालाइट तलमाथि गरिहँदा अलिअलि डर र त्यही डरभित्रको अर्को आनन्दले मज्जा लाग्यो,   यतिबेला पोखराको मौसम निकै खुलेकाले पनि हिमशृङ्खला र फेवातालका दृश्यलाई निकै नजीकबाट अवलोकन गर्न पाइने उहाँको भनाइ छ । 

माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने तथा तालतलैया एवं धार्मिकरुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको शहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ । पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेली एयर नेपाल गरी चार कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइटले मात्र उडान शुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित छ । 

गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११०  नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहसिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा उद्योगमन्त्री विकास लम्सालले पोखरा साहसिक खेलको हब भएको बताउनुभयो । यसको प्रचारप्रसार गरेर बाह्य पर्यटन भित्र्याउन सक्ने प्रशस्त सम्भावना र त्यसको गृहकार्य भइरहेका सन्दर्भमा हाल विश्वव्यापी रुपमा देखिएको कोराेना भाइरसले सबै क्षेत्रलाई प्रभावित बनाएको उहाँको भनाइ छ । 

“हामी विशेष योजनासहित नेपाल भ्रमण वर्ष २०२०  र गण्डकी प्रदेशको छिमेकी भ्रमण वर्षलाई भव्य बनाउने तयारीका साथ अघि बढेका थियौँ । अचानक कोभिड–१९ को प्रकोपबाट हामी सचेत बन्नुपर्ने अवस्थाले हाल पर्यटन प्रवद्र्धनात्मक गतिविधि रोकेका छौँ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!