पर्यटक लक्षित यातायात सेवा, पोखरा र रुपाकोट रिसोर्ट जोड्ने

Posted on: 27 Dec, 2019

पुष ११, कास्की | पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ । पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

सेवा सञ्चालन कार्यको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटनमा माछापुच्छ«े, फेवाताल, बेगनास तालजस्ता स्थल र प्राकृतिक सम्पदा मात्र देखाएर यहाँको पर्यटन दिगो र प्रभावकारी बन्न नसक्ने बताउनुभयो ।

पर्यटक लक्षित नयाँनयाँ पूर्वाधार विकासका साथै पर्यटनमैत्री वातावरणका माध्यमबाट मात्रै पर्यटकको बसाइ लम्ब्याउन सकिने उहाँको भनाइ थियो । रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले पोखरा र रुपाकोटलाई जोड्न पर्यटक लक्षित यातायात सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

फेवाताल किनारास्थित द कल्चर रिसोर्टबाट रुपाकोटसम्म आवतजावत गर्ने गरी दुवैतर्फ छ÷छ चरणमा सुविधासम्पन्न सवारीसाधनका माध्यमबाट विभिन्न प्याकेजसहित यातायात सेवाको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

रुपाकोट रिसोर्टको पाँचौँ वार्षिकोत्सव

रुपाकोट रिसोर्टले सञ्चालनको पाँचौँ वार्षिकोत्सव एक कार्यक्रमका बीच बिहीबार मनाएको छ । सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले पर्यटकीय नगरी पोखरा र पर्यटनको पर्याप्त सम्भावना बोकेको रुपाकोट जोडिनु अपरिहार्य भएको बताउनुभयो ।

रुपाकोट रिसोर्टले यहाँको पर्यटकीय पहिचानमा महत्वपूर्ण योगदान गर्नुका साथै पूर्वाधार विकासलगायतमा प्रेरणा दिएको बताउनुभयो । बेलायती राजकुमार चाल्र्सले यही क्षेत्रमा पदयात्रा गर्नुभएको बताउँदै उहाँले उक्त पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने कार्यमा गाउँपालिका लागेको बताउनुभयो ।

पानी, बाटोलगायतका अत्यावश्यकीय पूर्वाधार एवं आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिका लागेको बताउँदै उहाँले समाजमा केही गर्छु भन्ने सोचका जो कोहीलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रिसोर्टका सञ्चालक अधिकारीले २०० रोपनी क्षेत्रमा रिसोर्ट रहेको बताउँदै विदेशी राष्ट्रका राष्ट्र प्रमुख एवं अन्य अतिविशिष्ट स्तरका पाहुनालाई राख्न सक्ने गरी सुविधासम्पन्न ‘स्वीटरुम’लगायतका पूर्वाधार निर्माण भइरहेको बताउनुभयो । हाल जारी पूर्वाधार निर्माणका कामलाई सम्पन्न गरिसक्दा रु एक अर्ब लगानी हुने उहाँले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!