पर्यटकको पर्खाइमा पञ्चासे

Posted on: 08 Feb, 2018

माघ २५, पर्वत | पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । 

गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन थालेका हुन् । होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकको संख्या बढ्न थालेसँगै स्थानीयमा समेत उत्साह बढेको छ । 

होमस्टेसहितको न्यानो अतिथि सत्कारको प्रबन्ध भएपछि गाउँमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । सदरमुकामबाट ११ किलोमिटर पक्की सडक र सात किलोमिटर गोरेटोबाटो हिँडेपछि चित्रे पुग्न सकिन्छ । 

पञ्चासेको फेदीमा रहेको चित्रे गाउँमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको होमस्टे सञ्चालक विष्णुकुमारी गुरुङ बताउनुहुन्छ । घुम्न आउने पाहुनालाई उचित गाँसबास र कपासको व्यवस्थापन गर्नकै लागि होमस्टे सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । 

ग्रामीण क्षेत्रको बसाई र स्थानीय उत्पादनको उपभोग गर्न पाइने भएपछि आन्तरिक पर्यटकको संख्या बढेको स्थानीयवासी बताउँछन् । पञ्चासे अवलोकनका लागि आउने पर्यटकलाई खाना र बस्नको लागि असुविधा हुन थालेपछि गाउँमा होमस्टेको शुरुवात गरिएको शिक्षक मधुसुधन अधिकारीले बताउनुभयो । अहिले चित्रेमा वार्षिकरुपमा तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको चित्रे ग्रामीण पर्यटन होमस्टेको तथ्यांकमा उल्लेख छ । 

पाहुनाका लागि स्थानीयस्तरमा उत्पादन हुने खाना, लोकल कुखुरा, कोदो र मकैका परिकारले स्वागत सत्कार गर्ने गरिएको छ । विसं २०६६ मा एउटा घरबाट शुरु गरिएको होमस्टे हाल १० वटा घरमा फैलिएको छ । होमस्टेमा अहिले एक पटकमा ६५ जनालाई बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ । आगामी दिनमा अन्य घरमा समेत विस्तार गर्ने योजना रहेको सञ्चालक समितिका अध्यक्ष सुशीला गुरुङले बताउनुभयो । 

पछिल्लो समयमा जिल्लास्तरमा हुने गोष्ठी, सेमिनार र अन्तरक्रिया कार्यक्रमसमेत पर्यटकीय गाउँ चित्रेमा आयोजना हुन थालेपछि स्थानीयवासीको सहभागितामा बहुद्देश्यीय सामुदायिक भवन निर्माण गरी खाना खुवाउने तथा कार्यक्रम गरिँदै आएको छ । सुन्दर तथा प्राकृतिक उक्त क्षेत्रको विकास र होमस्टे प्रवद्र्धनमार्फत स्थानीयवासीको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको सम्भावना बढाउन सरकारले विशेष नीति ल्याउनुपर्ने स्थानीयवासीको माग छ । 

अग्ला हिमाली डाँडा, मनोरम ग्रामीण परिवेश, दुर्लभ र बहुमूल्य जडीबुटी पाइने पञ्चासेको घना जंगल र न्यानो आतिथ्यताका कारण यहाँ आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदैगएको छ । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!