सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल

Posted on: 13 Mar, 2017


फागुन ३०, सोलखुम्बु । सोल्खुम्बुको सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर स

गरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी दोर्जी शेर्पाले बताउनु भयो । 

जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो । अहिले दैनिक १०० को हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेको पर्यटन प्रहरी कार्यालय लुक्लाले जनाएको छ । 

केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवातजावत बढेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या दिन प्रतिदिन बढिरहेको नागरिक उड््डयन प्राधिकरण लुक्लाले जनाएको छ । 

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको छ । 

सोही कार्यालयमा रहेको पर्यटक सूचना केन्द्रले पर्यटकलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकले अपनाउनु पर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुराका बारेमा पर्यटकलाई जानकारी दिन्छ । 

हिमाल चढ्ने मौसमको रुपमा चिनिने यो मौसमका लागि आइसफल डाक्टर बाटो बनाउन सगरमाथा आधार शिविरमा पुगिसकेका छन् भने आरोही पनि आउने क्रम सुरु भएको छ । सगरमाथा क्षेत्रमा एकदेखि दुई महिना बिताएर वातावारणसँग स्वास्थ्यको अनुकूल मिलाउनुपर्ने भएकाले एक÷दुई महिनाअघि नै आरोही आउने क्रम सुरु हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । 

ट्रेकिंग मौसम सुरु भएसँगै जिल्लाका विभिन्न भागका पर्यटन व्यवसायी लुक्ला पुगेका छन् । केही दिनअघि मौसममा खराबी आएको भए पनि पुनः मौसममा सुधार आएकाले व्यवसायी खुसी भएका छन् । पर्यटन टोली आउने भएपछि खुम्बु हिँड्नुभएका सोलुखुम्बु वाकुका सुमन मगरले समयमा नै पर्यटक आउन थालेको बताउनुभयो । 

मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटलमा पनि चहलपहल सुरु भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!