घटस्थापनसँगै तेह्रथुममा हाल्न थालियाे लिंगेपिङ

Posted on: 27 Sep, 2022

असोज ११, काठमाडौं | तेह्रथुमको छथर गाउँपालिका ५ शुक्रबारे नजिकै गत वर्षझैँ यस वर्ष पनि लिंगेपिङ हालिएकाे छ । गाउँका युवाहरू मिलेर पिङ हालेका हुन् । दसैंंको घटस्थापनासँगै तेह्रथुमको गाउँगाउँमा लिंगेपिङ बनाउन थालिएको छ ।  युवाहरू जंगलबाट बाबियो काटेर ल्याएर पिङ हाल्ने गरेका छन् । दसैँमा एक पटक भूइँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । 


पिङ हालेपछि मात्र दसैँकाे आगमनको झझल्को दिने  छथर गाउँपालिका- ५ का दुर्गा बुढाथोकीले बताए । उनी भन्छन्, ‘हामी बच्चा हुँदा दसैँतिहार आएको जुन अनुभूति हुन्थ्यो, त्यो पछिल्लो समय हुन छाडेकाे छ l  हामीले जस्तै हाम्रा बच्चाहरुले पनि दशै आएको अनुभूति गरून् भनेर गाउँमा पिङ हाल्ने गरेका छाैँ र दसैँतिहारकाे महत्त्व बुझाउने प्रयास गरेका छाैँ ।'

 युवापुस्ताहरूमा गाउँमा हालिने लिंगेपिङको महत्व नै भुल्दै गएका छन् ।  ७० वर्षका माया लिम्बू भन्छिन्, ‘लिंगेपिङ हाल्न १५ दिन अघि नै हामी घण्टौँ लामो बाटो हिँडेर बाबियो काट्न जान्थ्यौ । काटेर ल्याएको बाबियो सुकाएर पिङ लगाउने लठ्ठा बाठ्थ्यौँ । अनि बाँसको लिंगाे गाडेर, पिङ बनाएर गाउँका सबै मिलेर रमाइलो गर्थ्याैँ, अहिले त पहिलेको जस्तै महत्व छैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!