तेह्रथुमको छथरमा पुन: मतदान गर्ने निर्णय

Posted on: 21 Nov, 2022

मङ्सिर ५, तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय भएको पत्र निर्वाचन आयोगमा पठाएको छ ।

उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ ।

मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्यासमेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनः मतदान गर्न माग गरेको आयोगमा लेखी पठाएको बताए । उक्त केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!