रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

Posted on: 17 Sep, 2021

दिलकुमार लिम्बू/न्युज कारखाना | असोज १, ताप्लेजुङ | विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो । 

रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप संकटमा पर्दै गएपछि रेडपान्डा संरक्षण (जोगाउने) गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो । 

रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरु रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेका हुन् । रेडपान्डाको संरक्षण गर्न कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत ६ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले जानकारी दिए ।

उनका अनुसार गएको आर्थिक वर्षमा मात्र नौवटा कुकुरको बन्ध्याकरण गरिएको थियो । अभियानअन्तर्गत नै चालू आव ०७८/८९ मा कम्तीमा १८ वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपान्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ । 


कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्ने छ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालोसमेतलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै भिटामिन खुवाउन थालेको राईले बताए । उनका अनुसार गत साता मात्र चार सय १४ कुकुर र १९ वटा बिरालोलाई रेबिज रोगविरुद्ध खोप र भिडामिन उपलब्ध गराइएको छ ।

रेडपान्डा पाइने जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ५ र ६ फाकुम्बामा ५३ वटा कुकुरलाई रेबिज रोगविरुद्धको खोप लगाएको र उक्त कुकुरलाई भिडामिन पनि खुवाइएको छ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. २ थेचम्बु र ३ तिरिङ्गेमा ६६ वटा, सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैँचा वडा नंं. ७ खेबाङ र ८ याम्फुदिन क्षेत्रमा एक सय ६३ वटा कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन दिइएको छ । 

यस्तै, सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा १६ वटा कुकुर, फुङ्लिङ नगरपालिका वडा नं. १० फुरुम्बो र ११ फावाखोलामा ९६ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ । उक्त क्षेत्रमा केही बिरालोलाई पनि रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले जानकारी दिए । उनका अनुसार रेबिज रोगविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक छन् । मञ्चले संकलन गरेको तथ्यांकअनुसार ताप्लेजुङमा करिब एक सय ३४ वटा रेडपान्डा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!