गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

Posted on: 07 Jan, 2023

पुस २३, डुम्रे | तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको हो । 

पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । “गर्भवती अस्पतालसम्म पुग्न मान्दैनन्, आमा र बच्चा स्वस्थ जन्मिनुपर्छ, त्यसैले प्रोत्साहनका लागि प्रयास गरिएको हो”, उहाँले भन्नुभयो । 

गर्भवतीले स्वास्थ्य परीक्षण गराएबापत उक्त रकम तत्काल उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । गर्भवतीले आवश्यक मात्रामा गर्भ परीक्षण नगराउँदा सुत्केरी हुने समयमा समस्या हुनसक्ने भएकाले जटिल समस्याबाट जोगाउन यस्तो निर्णय गरेर सहज बनाउने प्रयासमा रहेको उहाँले बताउनुभयो । निर्णय सर्वसम्मत पारित भइसकेकाले अब तत्काल कार्यान्वयनमा लगिने उहाँले बताउनुभयो । 

यसका साथै गर्भवतीलाई सुत्केरी हुने समयमा अस्पतालसम्म पु-याउन र घरसम्म ल्याउन आवश्यक परेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।  

चालु आर्थिक वर्षको बजेट रु ६० करोड रहेको गाउँपालिकाले जनाएको छ । त्यसमा आन्तरिक स्रोततर्फ रु एक करोड ६० लाख रहेको प्रवक्ता दरैले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभामा पालिकाको कूल बजेट रु ६१ करोड ६० लाख रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!