कर्मचारीका निधनमा ऋषिङ गाउँपालिका बन्द

Posted on: 11 Jul, 2021

असार २७, दमौली (रासस)। तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ । ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आज सेवा बन्द गर्ने निर्णय गरेको हो । 

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो । उहाँको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो ।

ऋषिङ शोकमा

यसैगरी सोही दिन ऋषिङ–७ मा पहिराले पुरिएर देवीसरा थापाको मृत्यु भएको थियो । एकै दिन दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा परेको छ । पहिरामा पुरिएर दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा डुबेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले बताउनुभयो । “प्रकृतिको रौद्ररुप प्रकट भएको छ । प्रकृतिले निर्मम प्रहार गरेको छ । सारा ऋषिङ शोकमग्न छ”, उहाँले भन्नुभयो । 

पहिराका कारण दर्जनौँ घर क्षतिग्रस्त र जोखिमपूर्ण भएका छन् । वर्षाको समयमा उठीबास, भागाभाग र रुवाबासी भएको छ । थुप्रै चौपाया मरेका छन् । धेरैको बारी पहिराले लगेको छ । खेत बगरमा परिणत भएको छ । खेतीपाती नष्ट भएको छ । सयौँ ठाउँमा पहिरो गएको छ । यातायात अवरुद्ध छ । 

उहाँका अनुसार पहिराले बस्ती असुरक्षित भएका छन् । “असुरक्षा, भय र त्रास व्याप्त छ । बाढी पहिरोपीडितले सहयोगको याचना र अपेक्षा गरिरहेका छन् । क्षतिको भौतिक मूल्य अनुमान गर्न गाह्रो छ । मानसिक र मनोवैज्ञानिक असर त झन् कहालीलाग्दो छ”, उहाँले भन्नुभयो । 

मृतक देवीसराका तीन सन्तान छन् । छोराहरु वैदेशिक रोजगारीमा छन् भने छोरीको घरजम भइसकेको छ । मृतक खुमबहादुरका तीन नाबालक छोरी छन् । उहाँका छोरीहरु कक्षा एक, ९ र १२ मा अध्ययनरत छन् । “कमाउने बुबाको नै पहिरामा परी मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ”, आलेले भन्नुभयो । यतिबेला थापा परिवार सहाराविहीन बनेको छ । “परिवारको दैनिकी त कठिन हुने नै भयो । बालबच्चाको लालनपालन, शिक्षा, दीक्षा र भविष्य अनिश्चित बन्ने देखिएको छ”, आलेले भन्नुभयो ।

गाउँपालिकाको कर्मचारी भएकाले उचित राहत, बीमालगायतका अन्य आवश्यक सहयोग गाउँपालिकाले गर्नुपर्ने आलेले बताउनुभयो । साथै श्रीमती वा छोरीलाई रोजगारीको व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । “दुःख र पीडाको यस घडीमा पीडितलाई साथ, सहयोग र सहानुभूतिको खाँचो छ । उनीहरुको घाउलाई सहयोगरुपी मलमको आवश्यकता छ”, उहाँले भन्नुभयो, “सहयोग त सरकारले अवश्य नै गर्नेछ । मानवीयताका खातिर सरकारका अतिरिक्त तपाईँ हाम्रो व्यक्तिगत र संस्थागत सहयोगको पनि ठूलो आवश्यकता छ ।”


यस बिषयमा तपाइको प्रतिक्रिया...!