तनहुँमा पहिराबाट घर भत्किँदा सात जना घाइते

Posted on: 01 Jul, 2021

असार १७, दमौली (रासस) । अविरल वर्षासँगै आएको पहिराले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र  भिमादमा घर भत्किँदा सात जना घाइते भएका छन् ।  बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

पहिरामा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको  मृत्यु भएको छ ।

भिमाद नगरपालिका –५ मा पहिराले घर भत्किँदा ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन घाइते भएका छन् । उनीहरुको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको छ ।  घर भत्किँदा रु पाँच लाख बराबरको क्षति भएको छ । 

शुक्लागण्डकी नगरपालिका –९ सिम्लेमा पहिराले घर पुरिँदा ५५ वर्षीया खगीमाया भुजेल र १४ वर्षीय विज्ञान  घाइते भएका छन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । 

यसैगरी भिमाद –७ पट्नेरीमा माटाको ढिस्को खसेर पहिरो जाँदा मनिषा परियारका घरमा क्षति पुगेको छ । पहिराबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिराका कारण रु दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–१ चिसापानीमा पहिरोले राजु खड्गीको एक तल्लो गारो लगाएको घर भत्किदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै शुक्लागण्डकी–९ सिम्लेमा टेकबहादुर महतको गोठ भत्किँदा गोठमा रहेका दश बाख्रा र एक भैसी मरेका छन् । प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले पहिराबाट थप क्षतिको विवरण नआइसकेको जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!