शुक्लागण्डकीमा माओवादीले पूर्व मन्त्री कोइराला मेयरको उम्मेदवार बनाउने

Posted on: 16 Apr, 2022

वैशाख ३, तनहुँ । नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेको हो । हाल उनी गण्डकी प्रदेश सभा सदस्य हुन् । 

गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । ‘पार्टीले शुक्लागण्डकीमा जित हासिल गर्नलाई उहाँलाई अगाडी सार्नु पर्दछ भन्ने ढंगले मेयर बनाउने निर्णय गरेका हौं । उहाँको मागभन्दा पनि पार्टीलाई आवश्यकता हो’, उनले भने । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई माओवादीको समर्थनमा मेयरमा जिताएकाले यसपालि पैँचो तिर्नुपर्ने उनको भनाई छ । गठबन्धनमा शुक्लागण्डकीको मेयर कुनै हालतमा नछाड्ने गुरुङको जिकिर छ ।

कोइरालाले २०७४ साउनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीसमेत पाएकी थिइन् । पार्टीले आवश्यकता महसुस गर्दै उम्मेदवार बनाउन गरेको निर्णय आफूले सहर्ष स्विकारेको कोइरालाको प्रतिक्रिया छ ।‘आवश्यकता बोध गरेर पार्टीले शुक्लागण्डकीको मेयरमा सिफारिस गरेको छ । नगर कमिटीले गरेको निर्णय स्वागतयोग्य छ’, उनले भनिन् । 

माओवादी केन्द्रले गठबन्धनमा अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेको बन्दीपुर गाउँपालिकासँगै जिल्लाको शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख पदमा दाबी गरिरहेको जनाइएको छ । आँबुखैरेनीमा भने अघिल्लो पटक अध्यक्ष उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!