रास्वपा लक्षित प्रचण्डको अभिव्यक्ति- खहरे खोला सुक्नेवाला छ, रुख हाम्रो साझा चिन्ह भइसक्यो

Posted on: 19 Apr, 2023

वैशाख ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै खहरे खोला सुक्ने टिप्पणी गरेका छन् ।

तनहुँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ, डरलाग्दोगरी आउँछ । तर, त्यो सुक्नेवाला छ । नदी गम्भीर ढंगले महासागरतिर लम्किरहन्छ, यो कुरा नभुलौं ।’

उनले कुनै आँधी, हुरी र बताससँग नआत्ती सतिसाल झैं खडा भएर शान्ति, संविधान र विकासको निम्ति उभिन आग्रह गरे ।

एमालेसहित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुँदा पनि आफूलाई चैन नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वाभाविक गठबन्धन यही भएको बताए ।

उनले अहिले संघदेखि प्रदेशसम्म गठबन्धनकै सरकार बन्ने अवस्था बनिसकेको बताए ।

उपचुनावमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने आश्वाससमेत उनले दिए । रुख चिन्ह कांग्रेसको मात्रै नभएर सबैको साझा भइसकेको उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!