पिसिआर परीक्षणमा रकम उठाएपछि चार कर्मचारी निलम्बित

Posted on: 01 Jun, 2021

जेठ १८, तनहुँ | पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ । 

सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई उपचार केन्द्रले निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा सुधन पन्त, आनन्दप्रसाद ढुङ्गाना, विधान तिमिल्सिना र मदन श्रेष्ठ छन् । उनीहरुलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको र उक्त कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म निलम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ । 

उपचार केन्द्रबाट हाल प्रदान भइरहेको सेवाको गुणस्तरमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रशासन प्रतिबद्ध रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । सेवाग्राही तथा सरोकारवालाहरुबाट केन्द्रले सदैव पाइरहेको विश्वास र भरोसा आगामी दिनमा पनि निरन्तर रहने केन्द्रले जनाएको छ । सत्र जनासँग पिसिआर रिपोर्टका लागि भन्दै उठाइएको रु तीन हजार गत बुधबार फिर्ता गरिएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!