पल प्रकरण: नाबालिगले बयान फेरे पनि प्रमाण आधार हुने

Posted on: 17 Apr, 2022

वैशाख ४, काठमाडौं । पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् । 

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । 

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए । हाल उनी तनहुँ कारागारमा छन् ।

बुवाको बयान बाँकी  

नाबालिग गायिकाले बयान फेरिपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ । तर पीडितले बयान फेरे पनि प्रमाणका आधारमा प्रकृया अघि बढ्ने स्रोतको भनाइ छ । बयानलाई मात्र नभएर अदालतमा पेस गरिएका प्रमाणलाई पनि आधार मानिने उनको भनाइ छ ।

‘पीडितले सामान्य बोली फेरेकी छन् । अरु सबै हो भन्छिन् सम्बन्ध हैन् भनेकि छिन्’, तनहुँ अदालत स्रोतले भन्यो । उनले हैन् भने पनि प्रमाणले पुष्टी गर्ने स्रोतको भनाइ छ । पीडित भनिएको नाबालिगको मात्र बयान भएको र आरोपपत्र दायर गर्ने उनका बुवाको बयान भने बाँकी रहेको अदालत स्रोतको भनाइ छ । बुवाको बयानमा के आउँछ त्यसपछि अन्य कुराबारे स्पष्ट हुने छ । ‘पीडितको बकपत्र सकिएको छ । पीडितको बुवा आएको खण्डमा सोमबार वकपत्र हुनेछ’, अदालत स्रोतले भन्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!