पल शाह प्रकरण: नाबालिकाले अदालतमा बयान फेरिन्

Posted on: 17 Apr, 2022

वैशाख ४, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । 

अदालतमा बहसको क्रममा पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् । 

बयानमा पीडित नावालिकाले प्रहरीलेनै जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको बताएकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।

पीडित भनिएकी बालिकाले सरकारी वकिलको रोहवरमा प्रहरीसँग दिएको बयानमा शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् ।

तर अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् । उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले किटानी जाहेरीका आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको थियो । शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताउदै आएका छन् । शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् । शाहलाई थुनामा पठाउने आदेश दिँदा अदालतले पीडित उनकै बयानलाई आधार मानेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!