मातृभाषालाई जीवन्त राख्न पाठशाला सञ्चालन

Posted on: 07 Aug, 2020

सानेबहादुर नेपाली । साउन २३, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

 मातृ भाषा बोल्न नजान्न्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न लागेको हो । यसका लागि गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरिसकेको छ । उहाँले भन्नुभयो, “लोप हुँदै जान थालेको आदिवासी जनजातिका भाषा संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।”

पाठशालामा भाषा सिक्न इच्छुक हुने अन्य गैरजातिलाई पनि समावेश गर्न सकिने गरी व्यवस्था मिलाइको छ । विशेषगरी गुरुङ, मगर तथा नेवार समुदायको बाहुल्यता रहेको बन्दीपुरमा आदिवासी जनजातिको भाषा संरक्षणमा सहयोग पुर्याउने उद्देश्य रहेको  गाउँपालिकाले जनाएको छ ।

जनजातिको बाक्लो बस्ती रहेको यस गाउँपालिकामा आफ्नो मातृभाषा बोल्न नजान्ने हुँदा भाषा मर्दै गएकाले त्यसको संरक्षण गर्न मातृभाषा कार्यक्रमलाई प्राथामिकतामा राखेर सञ्चालन गर्न लागेको हो । बन्दीपुरमा गुरुङ, मगर, नेवारलगायतका विभिन्न जनजातिको बाहुल्यता रहेको छ । उहाँले भन्नुभयो, “यहाँका पुराना पिँढीले आ–आफ्नो भाषा बोल्ने गरे पनि नयाँपुस्ताले पश्चिमेली संस्कृतिको सिको गर्दै जाँदा भाषा लोप हुने देखिएकाले संरक्षण गर्न खोजिएको हो ।” 

नयाँ युवापिँढीलाई आफ्नो संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले मातृभाषा पाठशाला कार्यक्रम सञ्चालनमा ल्याउन खोजिएको हो । उहाँले भन्नुभयो, “कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै सहज स्थिति बनेपछि सञ्चालन गरिने छ ।” मातृभाषा पाठशाला शुरु गर्ने तयारी गरिरहे पनि देशमा भएको विषम परिस्थितिका कारण तत्कालै सञ्चालनमा ल्याउन नसकिएको हो । आफ्नो भाषाप्रतिको मोह बढाउन र संस्कृतिको जगेर्ना गर्न गाउँपालिकाले नयाँ उपाय अवलम्बन गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

 लोप हुन लागेको संस्कृतिलाई जीवन्त राख्न गाउँपालिकाले मातृभाषालाई संरक्षण गर्न प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो । विभिन्न जनजातिको कक्षा सञ्चालन गरी भाषा संरक्षणका बारेमा जानकारी गराइने छ । भाषा संरक्षण र त्यसको जगेर्नाका लागि चलनचल्तीको भाषा बोल्न लगाइने छ । उहाँले भन्नुभयो, “नेवार, गुरुङ, मगर जातिलाई छुट्टाछुट्टै राखेर भाषा प्रशिक्षणको व्यवस्था गरिने छ ।” उक्त मातृभाषा सिक्नका लागि आउने सङ्ख्या भने यकिन नगरिएको गाउँपालिकाले जनाएको छ ।

चोरी मुद्दाका फरार पक्राउ 

चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा बन्दीपुर–५ झारगाउँ तिलाहर बस्ने २८ वर्षीय रुपराज गुरुङ रहेका छन् । जिल्ला अदालतको विसं २०७३ कात्तिक १८ गतेको फैसलाले छ महिना कैद र रु ५१ हजार ७५० जरिवाना तोकेपछि उनी फरार रहँदै आएका थिए ।  

तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा घरमा रहेको अवस्थामा फेला परेपछि पक्राउ गरी अदालतसमक्ष पेश गरेको हो । अदालतसमक्ष पेश गरिएका गुरुङलाई अदालतले बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ । 

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिँदै आएको  प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो ।रासस 




यस बिषयमा तपाइको प्रतिक्रिया...!