व्यास नपाद्वारा छ करोड राजस्व सङ्कलन

Posted on: 12 Feb, 2023

माघ २९, तनहुँ । तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ रु छ करोड चार लाख ९६ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो । 

नगरपालिकाले आन्तरिक स्रोतबाट रु २२ करोड ६० लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा छ महिनामा २८.४५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । नगरपालिकाले सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, प्राकृतिक स्रोतसाधनलगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । 

नगरपालिकाले यस अवधिमा सङ्घीय सरकारमार्फत रु ४४ करोड ६२ लाख ५३ हजार चार सय ४५ प्राप्त गरेको छ । सङ्घीय सरकारबाट रु एक अर्ब दुई करोड ४९ लाख ९९ हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट रु एक करोड ५९ लाख ४५ हजार ८८ प्राप्त भएको छ । प्रदेश सरकारबाट रु आठ करोड ६९ लाख ५२ हजार आम्दानी हुने नगरपालिकाको अनुमान छ । 

त्यस्तै अन्य बाँकीबाट रु १७ करोड ६८ लाख ९८ हजार चार सय २८ आम्दानी भएको छ । यो शीर्षकबाट रु ३१ करोड ७५ लाख आम्दानी हुने नगरपालिकाको अनुमान रहेको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताउनुभयो । छ महिनाको अवधिमा कुल २८.७६ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु ८७ करोड ४४ लाख ६६ हजार विनियोजन भएकामा रु ३५ करोड ६७ लाख ८८ हजार छ सय ८७ खर्च भएको छ । पुँजीगततर्फ रु ७८ करोड नौ लाख ८५ हजार विनियोजन भएकामा रु ११ करोड ९३ लाख ४१ हजार ७८ खर्च भएको छ । चालुतर्फ ४०.८० र पुँजीगततर्फ रु १५.२८ प्रतिशत बजेट खर्च भएको छ । 

चालु आवमा कुल एक हजार ५३ योजनामा उपभोक्ता समितिमार्फत गरिने एक हजार योजनामध्ये दुई सय ३६ योजनाको कार्यसम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । चार सय ३३ योजना सम्झौता भई अधुरो रहेको, तीन सय ३२ सम्झौता हुन बाँकी रहेको र ठेक्कामार्फत सञ्चालन हुने ५३ मा कार्यसम्पन्न भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कार्यसम्पन्न र सम्झौता भएका ६८ प्रतिशत र सम्झौता हुन बाँकी ३२ प्रतिशत छ । 

नगरवासीका असीमित आकाङ्क्षा रहेको र बजेट निर्माण गर्ने समयमा सम्बोधन हुन नसकेका कार्यक्रमलाई वडाको सिफारिस लिई जुनसुकै समयमा पनि नगरपालिकामा माग गर्ने प्रवृत्ति हरेक महिना हुने कार्यपालिका बैठकमा मागका निवेदनको दबाबलाई व्यवस्थापन गर्न कठिनाइ महसुस भएको न्यौपानेले बताउनुभयो । “सबैको क्षमता, परस्पर सद्भावले मात्र अपेक्षित कार्यक्रम अघि बढाउन सकिन्छ र यसका लागि हामी जनप्रतिनिधि एवं कर्मचारी सद्भावपूर्ण सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो । 

नगरपालिकाले चालु आवमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, युवा, खेलकुद, सूचना र सञ्चारका क्षेत्र, व्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाअन्तर्गत बैरेनी जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसँग करिब रु नौ करोड ऋण सम्झौता भएको, गत वर्ष नै बहुउद्देश्यीय भवन निर्माणका लागि करिब रु २८ करोडको ऋण सम्झौता भएको, व्यास १० स्थित नारेश्वर ताल प्रदेश सरकारसँगको सहकार्यमा निर्माण प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । 

व्यास–११ स्थित चिस्यान केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा जान लागेको, फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको, एकीकृत मादी उपत्यका विकास परियोजनाअन्तर्गत विभिन्न ठाउँमा प्रदेश सरकारको पहलमा करिब रु ३५ करोडको तटबन्धन कार्यक्रम चालु आवमा अगाडि बढेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!