प्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई गाउँघरमै रोजगारी

Posted on: 10 Sep, 2021

कृष्ण न्यौपाने । भदौ २५, दमौली (रासस)। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन् । 

न्यूनतम एक सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् । म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय ६५ बेरोजगारले रोजगारी पाएका छन् । गाउँपालिकामा चार सय ४८ बेरोजगार सूचीकृत भएकामा प्राथमिकताका आधारमा एक सय ६५ बेरोजगारले रोजगारी पाएका हुन् । 

रोजगारी पाउनेमा म्याग्दे गाउँपालिका–३, ४, ६ र ७ का बेरोजगार सूचीमा सूचीकृत भएकाहरु रहेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दे–३ का १३, म्याग्दे–४ का ३७, म्याग्दे–६ का ९ र म्याग्दे–७ का एक सय ६ जनाले रोजगारी पाएका छन् । उनीहरुले प्रतिदिन रु पाँच सय १७ का दरले न्यूनतम एक सय दिनको काम पाएका छन् । “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत एक सय र कामका लागि समुदायमा आधारित पारिश्रमिक आयोजनाअन्तर्गत ६५ जनाले रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो, “सात वडामध्ये चार वडामा आयोजनामार्फत् काम गरिएको छ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मतलगायत काम सम्पन्न भएको छ । “सबै कामको प्रगति सन्तोषजनक छ,” उहाँले भन्नुभयो, “स्थानीय स्तरमै रोजगारी पाउँदा बेरोजगारलाई गुजारा चलाउन सहज भएको छ ।” 

चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि दुई सय ५८ सूचीकृत भएका छन् । तीमध्ये एक सय एक जनाले रोजगारी पाउनेछन् । म्याग्दे–३ मा २२, म्याग्दे–४ मा ३६, म्याग्दे–६ मा ११ र म्याग्दे–६ मा एक सय ८९ जना सूचीकृत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि म्याग्दे–१ र २ मा कोही पनि सूचीकृत भएका छैनन् । प्रत्येक वडा कार्यालयमा सूचना पुर्याएपनि वडाको तर्फबाट राम्रो समन्वय हुन नसकेको संयोजक शाहीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा रु ८५ लाख बजेट विनियोजन भएको छ ।

व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई सय ८३ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमअन्र्तगत १२ वटा योजनाको काम गरिएको छ । कार्यक्रमका लागि रु ८८ लाख बजेट विनियोजन भएकामा रु ४७ लाख ५४ हजार ९ सय एक बजेट खर्च भएको रोजगार संयोजक सुजिता थापाले जानकारी दिनुभयो । 

नगरपालिकाका १४ वडामध्ये ७  वडामा मात्रै रोजगार कार्यक्रम सञ्चालन भएको छ । व्यास–६ मा कुुलो मर्मत, व्यास–९ मा चिसापानी मोटरमार्ग कच्ची नाला निर्माण, व्यास–१० देवीडाँडामा सिढी निर्माण, व्यास–११ चमेरेगुफा भतेरी मार्गमा सिढी निर्माण र चौतारी निर्माणको काम गरिएको छ भने व्यास–१३ मा सुढे पदमार्ग र व्यास–१४ मा रुम्सी बेलडाँडामा कच्ची नाला निर्माण गरिएको छ । 

आँबुखैरेनी गाउँपालिकामा तीन सय ९६ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रममार्फत् ३५ योजना सम्पन्न गरिएको रोजगार संयोजक कमला गैह्रेले जानकारी दिनुभयो । यसअन्तर्गत प्रत्येक वडामा चौतारा र पोखरी निर्माण गरिएको छ । यसैगरी गोरेटो बाटो, नाला निर्माणलगायत काम सम्पन्न भएको छ । कार्यक्रमका लागि रु ९६ लाख बजेट प्राप्त भएकामा रु ८६ लाख ९५ हजार खर्च भएको थियो । 

कार्यक्रमअन्तर्गत वडा नं ४ मा कोटगाउँ गोरेटो बाटो निर्माण गरिएको छ । वडा नं ५ मा ताराखसे आहालमा पोखरी तथा चौतारो निर्माण गरिएको छ । वडा नं ६ मा हिलेखर्क छिम्केश्वरी गोरेटो मार्ग निर्माण, वडा नं ५ बरालुङ गाउँबाट सानोभञ्ज्याङ जानको लागि गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं २ मा पोखरी र वडा नं ३ मा चौतारो निर्माण नभएको तर अन्य सबै वडामा पोखरी र चौतारो दुवै निर्माण गरिएको संयोजक गैह्रेले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!