वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु

Posted on: 30 Jun, 2022

असार १६, काठमाडौं | भक्तपुर, स्याङ्जा, कञ्चनपुरमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६  वर्षीया नारायण देवी थापा रहेकी छन् । उनको पुरिएर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

पर्खाल नजिकै हिँडिरहेको अवस्थामा पर्खाल भत्किँएर पुरिएकी उनको स्थानीय र प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 

स्याङजाको गल्याङ नगरपालिका–१० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार बर्षाको कारण भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही धन्सारमा सुतिरेकी उनकी छोरी १२ वर्षीया रेखा भट्टराई रहेकी छन् । उनको बुधबार मृत्यु भएको हो । 

धन्सार भत्किँएर पुरिँदा गम्भीर घाइते भएकी उनको गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका उनकै छोरा १६ वर्षीय लक्ष्मण भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरी बस्ने गोमा साउँदको घर वर्षाको कारण भत्किँदा पुरिएर सोही घरमा बस्दै आएका लाल बहादुर खुनाकी एक वर्षीया छोरी करिष्मा खुनाको मृत्यु भएको छ । 

घर भत्किँदा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पुरिएर घाइते भएका बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ४०  वर्षीय मान्ते थारू र लाल बहादुरको छोरा ११ वर्षीय अर्जुन खुना उपचार पश्चात डिश्चार्ज भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!