सामुदायिक विद्यालयद्वारा टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु

Posted on: 28 Sep, 2020

असोज १२, वालिङ । स्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको अध्यापन कार्यलाई निरन्तरता दिनका लागि विद्यालयले टोलटोलमै शिक्षकलाई खटाएर पढाउन शुरु गरेका हुन् ।

वालिङ नगरपालिकाभित्र रहेका ७३ सामुदायिक विद्यालय र १५ संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी सिकाइ सहजीकरण गर्न अनुरोध गरिएअनुसार विद्यालयले टोल–टोल विभाजन गरेर सिकाइ क्रियाकलाप अगाडि बढाएका नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।

विद्यालयलाई विभिन्न पाँच वटा सिकाइका विधि तथा विकल्प दियौं र सोही विकल्पमध्ये आफ्नाआफ्ना विद्यार्थीलाई अनुकूल हुने विकल्पको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउन निर्देशन दिइएको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

स्याङ्जा जिल्लाकै नमूनाका रुपमा रहेको वालिङ–१० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले १२ वटा टोलमा १४ सिकाइ केन्द्रमार्फत शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताउनुभयो ।

“यस विद्यालयमा अध्ययनका लागि आउने विभिन्न टोलका विद्यार्थीलाई पायकपर्ने गरी टोल विभाजन गरेर पढाउँदै आएका छौं ”, प्रअ लम्सालले भन्नुभयो “सिकाइ केन्द्रमा सबै विषयसँग सम्बन्धित शिक्षकलाई आलोपालो गर्दै पठाउने गरिएको छ ।” विद्यालयले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर असोजको पहिलो साताबाट पढाउन शुरु गरेको हो । कोभिड–१९ को जोखिमका कारण विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउन सकिने अवस्था नभएकाले प्राप्त निर्देशिका अनुसार अगाडि बढिएको प्रअ लम्सालले बताउनुभयो ।

वालिङ खहरेस्थित रणवीर जनहित माध्यमिक विद्यालयले पनि टोल टोलमा पढाउन शुरु गरेको छ । विद्यालयले विभिन्न नौ वटा टोल विभाजन गरी विषयगत शिक्षकको तालिका बनाइ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेको विद्यालयका प्रअ लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । अनलाइन शिक्षण सिकाइ क्रियाकलाप भन्दा टोल–टोलमा बनाइएको सिकाइ केन्द्रमा शिक्षक विद्यार्थी उपस्थित भएर गरिएको अध्यापन कार्य बढी प्रभावकारी हुने गरेको प्रअ रेग्मीको अनुभव छ ।

टोलटोलमा पुगेका शिक्षकले कोभिड–१९ ले पारेको सङ्कटका बेला मनोसामाजिक परामर्श दिने, लेखन सीपसम्बन्धी कला, नियमित हात धुने बानीको विकास र आवश्यक सरसफाइसम्बन्धी जानकारी गराउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सामुदायिक तथा संस्थागत विद्यालय सुचारु नगर्न नगराउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्न निर्देशन दिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!