जिल्ला नेतृत्वको सहमति पालिकाका उम्मेदवारहरुले मानेनन्

Posted on: 30 Apr, 2022

 वैशाख १७, सुर्खेत | सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन् । १६  वैशाखसम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो । मनोनय फिर्ता नलिएपछि अब एक्लाएक्लै चुनाव लड्नुपर्ने अवस्था आएको ।

भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कंग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनबीच सहमति भएको थियो । तर कांगेस, नेकपा माओवादी केन्द्रले पुरै सेटसहित मनोनयन दर्ता गरेका थिए । गठबन्धनविरुद्ध बागी मनोनयन दर्ता गरेका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेपनि त्यसो नहुँदा जिल्लामा टुंगो लागेका स्थानीय तहबाहेक अरु सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको बताइएको छ ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्लाएक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ । छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्ता गठबन्धन दलहरूको सहमति भइसकेको छ । 

नलगाड नगरपालिकामा सहमतिअनुसार माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको थियो । माओवादीले प्रमुखमा मात्र मनोनयन दर्ता गरेपनि कांग्रेसले सबै पदमा उम्मेदवारी दिएपछि सहमति नभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता गरे पनि नगर प्रमुख, उपप्रमुख कसैले पनि फिर्ता लिएका छैनन् । कुशे गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन् ।

 १५ वैशाखमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सत्ता गठबन्धनका नेताहरुले सहमति गरेपनि उम्मेदवारले त्यो कुरा नमान्दा सहमति विथोलिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!