प्राविधिक शिक्षालय : व्यवस्था फेरियो, अवस्था फेरिएन

Posted on: 07 Mar, 2021

फागुन २३, काठमाडौँ  । कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो शिक्षालयको भवन मरमत नहुँदा भत्किने अवस्थामा पुगेको हो । शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा चरणक्षेत्र झैँ देखिन्छ । 

विसं २०३० मा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने ध्येय स्थापना भएको यो शिक्षालय  अहिले निकै अव्यवस्थित हुन पुगेको छ ।  

शिक्षालयमा खानेपानीको चरम अभाव छ । यसका कारण विद्यार्थी र शिक्षक प्रदूषित पानी पिउन बाध्य छन् । चालिस वर्ष पहिले बनेका भौतिक संरचना पुनःनिर्माण त के मर्मतसमेत हुन सकेका छैनन् । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न बाध्य भएका छन् । एकताका यहाँका महिला विद्यार्थी सिन्दुर हालेर शिक्षालय बाहिर जानु पर्दथ्यो । प्राविधिक शिक्षालय जस्तो गरिमामय महत्व बोकेको शिक्षालय निकै छाडा र उजाड बनेको यहाँका स्थानीयवासी बताउँछन् । 

शिक्षालयका प्रमुखमा २६ जना फेरिएका छन् ।  शिक्षालयको मुहार र स्वरुप पुरानै प्रकृतिको छ ।  शिक्षालयको मर्मतसंभार र संरक्षणमा कसैको चासो नपुगेको स्थानीयवासी कर्णबहादुर भण्डारीले जानकारी दिनुभयो । 

उहाँको भन्नुभयो, “हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो थलो अहिले उजाड हुन पुगेको छ । भवनमा लगाएका चुना पुरानो भएको छ । भवन भत्किएका छन् । घेरबार नहुँदा शिक्षालय असुरक्षित छ ।सरोकारवाला निकाया रमिते बनेर टुलुटुलु हेरिराखेको छ । यो जस्तो लाजमर्दो विषय अरु हुन सक्दैन ।” 

छ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको  शिक्षालय निकै उद्देक लाग्दो छ । विकासको प्रतिक्षा गरिरहेका अवस्थामा छ । शिक्षालयका शौचालय  फोहर छन् । सङ्घीयता आइसकेपछि प्राविधिक शिक्षालयको अवस्था गिर्दो छ । हरेक कार्यालय प्रमुखको प्रतिवेदनमा यहाँको विकास राम्रो भए अवस्था नफेरिएको स्थानीय बताउँछन् ।  

शिक्षालयका प्राचार्य टेकेन्द्र थापा शिक्षालयको अवस्था निकै नाजुक भएको बताउनुभयो । उहाँले यही फागुन १८ गतेदेखि प्राचार्यका रुपमा कार्यभार सम्हाल्नुभएको थियो ।  

उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा यहाँको मुहार फेर्ने गरी कार्ययोजना ल्याउन लागेको छु । चालिस वर्ष पुराना संरचनाको मर्मत हुनेछ । नाला सफा गर्नेदेखि आधुनिक शौचालय निर्माणसम्म हुनेछन् ।” शिक्षालय परिसर हरियाली हुनेछ । पहिलेकै अवस्थामा आकर्षक संरचना निर्माण भएको  हुने उहाँले बताउनुभयो । 

शिक्षक, प्रशिक्षक, कर्मचारी र विद्यार्थी बदलिन्छन् । प्राविधिक शिक्षालयको संरचना पुरानै ढर्राको छ । प्राविधिक शिक्षालयसँग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबैसँग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास हुने प्राचार्य थापाले जानकारी दिनुभयो ।

अहिले डिप्लोमातर्फ चार विषयको पढाइ भइरहेको छ । विसं २०६५ मा डिप्लोमा सिभिल इञ्जिीनियर, २०६६ सालमा आइएस्सीएजी प्लान्ट साइन्स, २०७४मा फरेस्ट्री र २०७७ मा फार्मेसी पठनपाठन भइराखेको छ । आगामी दिनमा डिप्लोमा भेटनरीतर्फको कक्ष सञ्चालनका लागि पहल हुने प्राविधिक शिक्षालयले जनाएको छ । 

यो कक्षा सफल भएको खण्डमा एग्रो इञ्जिनीयर पढाइका लागि लविङ शुरु हुनेछ । प्रवेशिका परीक्षा मुनितर्फ सब ओभरसियर र जेटिएको पठनपाठन भइरहेको छ । सिएमए र अनमी चिकित्सा शिक्षा आयोगले नपढाउनका लागि परिपत्र गरिसकेको छ ।

 यो वर्ष यी दुई विषयमा भर्ना पनि लगिएको छैन । पहिलेका केही महत्वपूर्ण तथा प्राविधिक शिक्षालयमा हुनुपर्ने गुणको अभाव छ । अहिले यहाँ उत्पादित जनशक्ति देशैभरी छरिएर काम गरिरहेको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!