करुवामा लुकाएर खैरो हेरोइनको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

Posted on: 08 Aug, 2022

साउन २३, इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा इटहरी–४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो ।


उनीहरूको बयानका आधारमा खैरो हेरोइनको डिलर सञ्चालक धनकुटा घर भएर इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राईलाई  प्रहरीले पक्राउ गरेको छ । ​विर्त सिंह राईको डिलरमा ३ वटा करुवामा लुकाएर राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए । डिएसपी खड्काले भने–‘विर्त सिंहको शरीर खानतलासी गर्दा ६ ग्राम ७६० मिलिग्राम हेरोइन बरामद गरिएको छ ।’ सुशान्त र सिर्जनालाई विर्त सिंहले खैरो हेरोइन बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  आरोपीहरूमाथि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!