आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर हेर्न एक व्यक्तिले गरे मरेको नाटक

Posted on: 31 Jan, 2023

माघ १७, काठमाडौँ | एजेन्सी | ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् ।

‘सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसैको भने ५ सय जनासम्म आउने गरेको देखेका थिए । हालै, उनलाई पनि आफ्नो अन्तिम संस्कारमा आफ्ना को कति साथी र आफन्त आउलान् भन्ने उत्सुकता जाग्यो त्यसैले उनले मरेको नाटक गरे । त्यो पनि, अन्तिम संस्कारमा को को आउँछन् त भनेर हेर्नका लागि मात्रै ।


जनवरी १० तारिखमा कसैले बाल्टाजार लेमोसको सोसल मिडियामा बाल्टाजारको निधन भएको कुरा पोस्ट गरे । त्यसमा लेखिएको थियो, ‘यो दुःखद अपराह्नमा बाल्टाजारको निधन भएको खबर दिन चाहन्छु । थप जानकारी छिट्टै दिनेछौँ ।’

त्यसको एक दिनअघि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालको अगाडि बसेको उनको तस्बिर पोस्ट गरिएको थियो, त्यसैले यो कुरा धेरैले पत्याए ।

लेमोसको परिवारलाई यो घोषणाले चकित बनायो किनभने उनी अस्पताल भर्ना भएको कसैलाई पनि थाहा थिएन । उनका एक जना भतिजो अल्बर्ट आइन्स्टाइन अस्पताल गएर उनीबारे बुझे तर बाल्टाजार लेमोस त्यहाँ भर्ना भएको कुनै रेकर्ड थिएन ।

बाल्टाजारका अनलाइनका साथीले उनी बितेको दुःखद खबर सेयर गर्न सुरु गरे । कमेन्टमा धेरैले श्रद्धाञ्जली दिए र मृत्यु के कारणले भएको थियो भनेर धेरैले सोधिरहेका थिए । तर यसबारे केही जानकारी दिइएको थिएन । यद्यपि, अन्तिम संस्कार कहाँ र कहिले गरिनेछ भनेर उनको फेसबुक अकाउन्टमा भने जानकारी दिइएको थियो ।

जनवरी १८ तारिखमा उनका साथीभाइ र आफन्त बाल्टाजारको पैतृक घर भएको सहर कुरिटिबामा जम्मा भयो जहाँ उनको कथित अन्तिम संस्कार आयोजना भइरहेको थियो । एक प्रहरमा बाल्टाजारले आफ्नो जीवनबारे बोले । त्यति बेला धेरै मानिस रोए किनभने धेरैले त्यो रेकर्ड गरिएको होला भनेर सोचेका थिए । त्यसपछि एउटा ढोका खोलियो र उनी सबैको सामु उपस्थित भए ।

अनुमान गर्न सकिन्छ कि त्यति बेला मानिसहरूको प्रतिक्रिया कस्तो थियो होला । कोही रुनु थाले, कोही मुख खोलेर हेरिरहे तर जब उनले आफू मरेको नाटक गरेको भने तब त्यहाँ उपस्थित धेरैले उनीमाथि अत्याचारको आरोप लगाए ।

‘तिमीले के चाहेको थियौ, त्यो पायौ बाल्टाजार, मानिसहरूको ध्यान आकर्षित गर्न । इभेन्ट फोटोग्राफरहरूको सबै समूहमा तिम्रो मृत्युको कुरा भइरहेको छ । सबै जना दुखित थिए । कस्तो अनावश्यक ठट्टा । मलाई लाग्छ ‘तिम्रो अन्तिम संस्कार’ मा आएका सबै जनासँग तिमीले फोटो खिच्नुपर्छ । मैले तिमीलाई निजी रूपमा चिन्दिनँ तर हाम्रो कहिल्यै भेट नहोस् भन्ने म चाहन्छु,’ एक जनाले वास्तविकता थाहा पाएपछि कमेन्टमा लेखेका छन् ।

बाल्टाजार लेमोसको कथा सोसल मिडियामा आगो सरी फैलियो । उनको उद्देश्य के थियो भनेर धेरैले उनलाई सम्पर्क पनि गरे । उनले मानिसहरूलाई दुःखी बनाउनु आफ्नो अभिप्राय नभएको बताउँदै आफ्नो मृत्यु हुँदा को–को आउँछन् भनेर थाहा पाउन यस्तो गर्नुपरेको बताए ।

‘यसबारे मलाई पाँच महिना अघि सोच आएको थियो । म साँच्चै नै मरेको हुँ भनेर देखाउन चाहन्थे । मानिसहरूले यसलाई आफ्नै तरिकाले व्याख्या गरे । तर मेरो अन्तिम संस्कारमा को आउँछ भनेर म हेर्न चाहन्थेँ,’ लेमोसले भने । ‘मैले यसबारे कसैलाई पनि भनिनँ किनभने यसैले काम चल्छ जस्तो लाग्यो । कसैलाई दुःखी बनाउने, मान हानी गर्ने मेरो उद्देश्य थिएन । म सबैसँग माफी माग्न चाहन्छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!