हजुरआमाको गर्भमा नातिनी !

Posted on: 26 Sep, 2022

असोज १०, काठमाडौँ । तपाईले विभिन्न खालका अनौठो घटनाहरु देख्नु तथा सुन्नुभएको होला । कहिलेकाहीँ आमा र छोरी एकसाथ गर्भवती र एकसाथ सुत्केरी भएका समाचार सुनिन्छन् ।

त्यस्तै कहिलेकाहीँ सासु र बुहारीले एकैचोटी बच्चा जन्माएर दुई पुस्तालाई एकसाथ धर्तीमा ल्याएका घटना पनि भएकै हुन्छन् । तर तपाईले सायद कुनै आमाले आफ्नो छोराको बच्चालाई गर्भमा राखेर जन्माइदिन लागेको घटना चाहीँ सुन्नुभएको थिएन होला ।


कल्पना गर्नपनि गाह्रो यो यथार्थ घटना हो । जहाँ एकजना ५६ वर्षीया महिला आफ्नै छोराको बच्चाको आमा बन्दैछिन् । उनको गर्भमा आफ्नै नातिनीको भ्रुण हुर्किरहेको छ ।

पछिल्ला दिनमा न्यान्सी हक नामकी महिला सोसल मिडियामा निकै चर्चित छिन् । न्यान्सीले जुन छोरालाई जन्मएर पालनपोषण गरी हुर्काइन् अहिले त्यहीँ छोराको बच्चाको आमा बन्दैछिन् ।

५६ वर्षकी न्यान्सीले आफ्नो छोराको बच्चालाई आफ्नो गर्भमा पालिरहेकी छिन् । आगामी नोभेम्बरमा उनले आफ्नी नातिनी जन्माउँदैछिन् । उनी आफुले जन्माउने बच्चाकी आमा र हजुरआमा दुवै हुन् ।

डेलीस्टारमा छापिएको समाचार अनुसार अमेरिकाको उटामा बस्ने न्यान्सीको गर्भमा उनका ३२ वर्षका छोरा जेफ र ३० वर्षकी बुहारी क्याम्ब्रियाको बच्चा हुर्किरहेको छ । उनी आफ्नै छोरा तथा बुहारीका लागि एक सरोगेट आमा बन्दैछिन् । नोभेम्बरमा उनको घरमा थप एक सदस्यको आगमन हुँदैछ । न्यान्सीले छिटै नै आफ्नी नातिनी जन्माउँदैछिन् ।

डाक्टरहरुका अनुसार ५६ वर्षकी न्यान्सीको स्वास्थ्य पूर्णरुपमा ठीक छ । नोभेम्बरमा जन्मिने शिशु उनकी पहिलो नातिनी होइनन् । त्यसअघि पनि उनका चारजना नाति नातिनी छन् । ती जुम्ल्याहा हुन् । ती सबैलाई उनकी बुहारी क्याम्ब्रियाले नै जन्माएकी हुन् ।

दुईपटक जुम्ल्याहा जन्माउँदा क्याम्ब्रियाको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको थियो र उनले थप बच्चा जन्माउने अवस्था रहेन । तर यो दम्पत्तिको अझै सन्तान जन्माउने चाहना मरेन ।

त्यसैले परिवार बढाउने जिम्मेवारी अब क्याम्ब्रियाकी सासु न्यान्सीले लिएकी छिन् र छोरा बुहारीको बच्चाको लागि आफ्नो कोख भाडामा दिएकी छिन् । अनौठो त के भने न्यान्सीकै लागि यो बच्चा छैटौँ बच्चा हुनेछ । यसअघि उनले पाँचौँ बच्चा जन्माइसकेकी छिन् । एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!