रेलवे स्टेशनमा जागिरे बाँदर !

Posted on: 18 Sep, 2022

एजेन्सी । मानिस र जनावरबीच अनौठो सम्बन्ध रहँदै आएको छ । मानिसले आफ्नो कामका लागि सदियौँदेखि जनावरको प्रयोग गर्दै आएको छ । तर के तपाईंले कुकुर तथा घोडा बाहेक अन्य जनावरले सरकारी जागिर खाएको देख्नुभएको छ ? दक्षिण अफ्रिकामा चाहिँ एउटा लंगुर बाँदरले समेत सरकारी जागिर खाने मौका पायो ।


उक्त लंगुरले ९ वर्षसम्म रेलवे स्टेशनमा जागिर गरेको थियो । उसले जागिरबापत तलब पनि पाउँथ्यो । रेलवे स्टेशनमा सो बाँदरले सिग्नल म्यानको रुपमा काम गरेको थियो ।

सन् १८७० ताका दक्षिण अफ्रिकाको केपटाउन सहरको नजिकै न्पजदिन्हम नामक एक रेलवे स्टेशन थियो । त्यहाँ जेम्स वाइड नामका एक कर्मचारीले सिग्नल म्यानको काम गर्दथे । तर रेल दुर्घटनामा उनले आफ्ना दुबै खुट्टा गुमाए । त्यसपछि उनलाई काम गर्न निकै समस्या भयो । उनले काठका नक्कली खुट्टा पनि लगाए तर पहिलेजस्तो काम गर्न गाह्रो भयो । आफ्नो कामलाई लिएर उनी निकै दुखी बन्न थाले । एकदिन उनको नजर बाटोमा गाडी हाँकिरहेको एउटा लंगुर बाँदरमाथि पर्यो । उनले लंगुर मालिकसँगबाट उक्त लंगुर किनेर ल्याए ।


जेम्सले उक्त लंगुरको नाम ज्याक राखे । त्यो निकै होसियार र समझदार थियो । उसले घरका सबै काममा पनि सहयोग गर्दथ्यो । जेम्सले उसलाई रेलवे स्टेशनमा काममा जाँदा पनि सँगै लैजान थाले । ज्याकलाई स्टेशनमा रेललाई सिग्नल दिन तथा सिग्नल परिवर्तन गराउन पनि सिकाए । पहिले लंगुरले जेम्सको इशारा अनुसार मात्र काम गर्दथ्यो । पछि त उसले हर्नको आवाजबाटै सिग्नल परिवर्तन गर्न थाल्यो ।


लंगुरले रेलवेको सिग्नल परिवर्तन गर्ने काम गर्ने गरेको समाचार डढेलो जस्तै फैलियो । त्यसपछि रेलवे अधिकारीहरुले लंगुरलाई काममा लगाउने जेम्सलाई तत्कालै बर्खास्त गरिदिए । आफूलाई जागिरबाट हटाउने अधिकारी समक्ष जेम्सले लंगुर बाँदरको क्षमताको परीक्षण गराउन माग गरे । रेलवे अधिकारीहरुले लिएको परीक्षणमा लंगुर पास भयो । त्यसपछि जेम्सको जागिर पनि थमौति भयो र ज्याकले आधिकारिक रुपमा रेलवेमा सिग्नल म्यानको काम गर्न थाल्यो । उसलाई रोजगार नम्बर पनि प्रदान गरियो ।

उक्त लंगुरको दैनिक तलब २० सेन्ट तथा हरेक हप्ता आधा बोतल बियर समेत दिइन्थ्यो । ९ वर्षको आफ्नो सेवा अवधिमा ज्याकले कहिल्यै विदा लिएन र गल्ती पनि गरेन । सन् १८९० मा क्षयरोगका कारण ज्याकको मृत्यु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!