जन्मकैदको सजाय सुनाइएका कैदीले ल्याए परीक्षामा सबैभन्दा उत्कृष्ट अंक, छात्रवृत्ति समेत पाए

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ | एजेन्सी | जन्मकैदको सजाय सुनाइएका पाकिस्तानका एक कैदीले माध्यमिक शिक्षाको परीक्षामा सबैभन्दा धेरै अंक बटुल्दै थप पढाइका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । कराँचीको कारागारमा रहेका ३५ वर्षीय सयेद नइम शाहले निजी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउँदै इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ पाकिस्तानबाट थप शिक्षाका लागि छात्रवृत्ति प्राप्त गरेका हुन् ।

देशका अन्य कारागारजस्तै कराँचीको कारागारमा पनि निर्धारित संख्याभन्दा धेरै कैदीहरु राख्ने गरिन्छ । २४ सयको क्षमता रहेको उक्त कारागारमा ६ हजारभन्दा बढी कैदी रहेको बताइएको छ । एमनेस्टी इन्टरनेसनलले पाकिस्तानको कारागारको अवस्था दयनीय रहेको बताएको छ ।

कारागारभित्रबाटै रोयटर्ससँगको अन्तरवार्तामा शाहले आफूलाई सानोमा स्कूल जान मन लाग्ने तर परिवारको आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन नसकेको बताएका छन् । उनले कारागारमा अन्य कैदीहरू पनि पढिरहेको र उनीहरुले नै आफूलाई परीक्षा दिनका प्रेरित र सहयोग गरेको जानकारी दिए । कारागारका डेपुटी सुपरिटेन्डेन्ट सइद सुमरोले कारागारका १२ सय कैदी हाल पढिरहेको बताउँदै शाहले हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गरे । छात्रवृत्ति पाए पनि शाहले अझै प्रवेशिका परीक्षा भने पास गर्नुपर्ने इन्स्टिच्युटका अधिकारीले बताएका छन् । छात्रवृत्तिको रकम १० लाख पाकिस्तानी रुपैयाँ बराबरको रहेको छ ।

सन् २०१० मा व्यक्तिगत रिसिइबीमा एक व्यक्तिको हत्या गरेको आरोपमा सन् २०१८ मा शाहलाई जन्मकैदको सजाय सुनाइएको थियो । पाकिस्तानमा जन्मकैदको अवधि २५ वर्ष रहेको छ । तर, सुनुवाइमा बिताएको समय, पढाइमा हासिल गरेको उपलब्धि, राम्रो आचरण र रक्तदानको अंकको कारणले अब उनी आगामी ६ वर्षमा रिहा हुने बताइएको छ । सीएनएन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!