किशोरीको हत्यामा संलग्नलाई थुनामा राख्न आदेश

Posted on: 14 Jun, 2019

जेठ ३१,पाँचथर | पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत वैशाख २९ गते योङहाङको घाँटी रेटेर हत्या गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ का पदम गोले तामाङ, भगीरथ बाँस्तोला र कर्ण तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको पाँचथर जिल्ला अदालतले जनाएको छ । 

प्रत्यक्ष संलग्न नभए पनि पदम र भगीरथलाई पदमकै काका कर्ण तामाङले हत्यामा सहयोग पु¥याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत आइतबारदेखि जिल्ला अदालतमा चलेको बयान सकिएसँगै अदालतले बिहीबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पाँचथर प्रहरीका अनुसार उनीहरुलाई बिहीबार नै पाँचथर कारागार चलान गरिएको छ । 

हिलिहाङ गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत योङहाङको उनका पूर्वप्रेमी पदम तामाङले बाँस्तोलाको सहयोगमा घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । तामाङसँग मोबाइलसेट र सीमकार्ड साटेकी योङहाङलाई उक्त सामग्री फिर्ता गर्न एकान्तमा बोलाई उनीहरुले हत्या गरेका थिए । आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशङ्कामा तामाङले शीतलको हत्या गरेको स्वीकार गरेको पाँचथर प्रहरीको भनाइ छ ।

हत्यामा संलग्न बाँस्तोला वैशाख ३० गते फिदिमबाट पक्राउ परेका थिए । हत्यामा सहयोग पु¥याउने कर्ण घटना भएको नौ दिनपछि फिदिमबाटै पक्राउ परेका थिए । कर्णले हत्यामा संलग्न भएका दुई जनालाई गाडी भाडा दिएर सहयोग गरेको प्रहरीले अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ । हत्याका मुख्य योजनाकार पदम भने २१ दिनसम्म फरार रहेका थिए । उनलाई प्रहरीले जेठ १८ गते झापाको दमकबाट पक्राउ गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!