एक खेल अगावै सेमिफाइनलमा नेपाल

Posted on: 23 May, 2023

जेठ ९, काठमाडौँ | बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगावै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पारेको नेपालले बंगलादेशलाई दोस्रो र तेस्रो सेटमा क्रमशः २५-८ र २५-९ ले हराउँदै लगातार दुई जित निकाल्यो ।

नेपालले बंगलादेशलाई हराएसँगै भारतपनि एक खेल अगावै सेमिफाइनल पुगेको छ ।


तुलनात्मक रूपमा कमजोर मानिएको बंगलादेशविरूद्ध नेपालका ४ खेलाडीले डेब्यू गरे । मिडिल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ, लिबेरो शान्तिकला तामाङ र स्पाइकर पुजा थारूले डेब्यू अवसर पाए ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा भारतसँग हारेको बंगलादेशको लगातार यो दोस्रो हार हो ।

बंगलादेशले भोली कीर्गिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । भने, नेपालले आफ्नो समूहको बलियो प्रतिस्पर्धी भारतको सामना गर्नेछ । भोलीको खेलमा भारतलाई हराए नेपाल समूह विजेता बन्नेछ ।

आज हुने अन्तिम खेलमा समूह बी का उज्बेकिस्तान र माल्दिभ्स खेल्नेछन् । माल्दिभ्सलाई हराए उज्बेकिस्तान र काजाकिस्तान समूह बी बाट एक खेल अगावै सेमिफाइनल पुग्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!