हवाई यात्राको क्रममा जन्मेको बच्चाले विश्व नागरिकता र जीवनभर निःशुल्क हवाई टिकट पाउँछ ? के हो वास्तविकता ?

Posted on: 01 Mar, 2023

सामान्यतया, जब हवाई यात्राको बारेमा कुरा गरिन्छ, यसको बारेमा धेरै चर्चा हुन्छ । तपाइले पनि सुन्नु भएको होला । हवाई यात्राको क्रममा बच्चाको जन्म भएमा बच्चाले जीवनभरको लागि उक्त एयरलाइन्सको निःशुल्क उडान टिकट पाउँछ ।

तपाईंले यो पनि सुन्नु भएको होला कि अन्तर्राष्ट्रिय उडानमा बच्चा जन्मेमा उसले विश्व नागरिकता पाउँछ । त्यसपछि उनले कुनै पनि देशमा जान भिसा लिनु पर्दैन । आज हामी तपाईलाई यसको बारेमा सत्य बताउँदैछौं ।

के हो वास्तविकता ?

कतै साथीभाइको जमघट वा पारिवारिक जमघट, यसक्रममा तपाईले विभिन्न किसिमका चर्चाहरु सुन्नुहुन्छ । यस्ता चर्चामा कहिलेकाहीँ सत्यता पनि हुन्छ र कहिलेकाहीं गफ मात्रै हुन्छन । हवाई यात्राको क्रममा जन्मेको बच्चाले जीवनभरको लागि सित्तैमा हवाई टिकट पाउँछ भन्ने कुरा पनि यस्तै चर्चा हो । यो विषयमा मुख्यत हवाई यात्राको बेला जन्मेको बच्चालाई विश्व नागरिकता दिइन्छ र उसलाई कुनै पनि देशमा जान भिसा लिनुपर्दैन, बच्चाको जन्म हुँदा जुन देशको विमान उडेको भए पनि बच्चाले सोही देशको नागरिकता पाउँछ, बच्चा स्वतः एयरलाइन दर्ता भएको देशको नागरिक बन्नेछ जस्ता चर्चाहरु धेरै भएको सुनिन्छ ।

बच्चाले विश्व नागरिकता पाउँछन् ?

उड्डयन उद्योगसँग सम्बन्धित विज्ञहरू भन्छन् कि यी सबै चर्चाहरु वास्तवमा गफमात्रै हुन् । तथ्य यो हो कि महिलाहरूलाई गर्भावस्थाको अन्तिम दिनहरूमा हवाई यात्रा नगर्न भनिएको छ । ३६ हप्तापछि महिलालाई विमानमा यात्रा गर्न पनि दिइँदैन । तैपनि, महिला प्रि–डिलिभरी हवाई यात्रामा भएको अवस्थामा, बच्चालाई आमाबाबुकै राष्ट्रियता दिइन्छ । यसको मतलब विश्व नागरिकताको विषय झुटो हो र बच्चालाई विश्व नागरिकता दिएको कतै प्रमाणित पनि भएको छैन ।

निःशुल्क उडान टिकट पाउँछन् ?

धेरैजसो एयरलाइन्सले हवाईजहाजमा जन्मेका बच्चालाई जीवनभरका लागि निःशुल्क यात्रा टिकट दिने गरेको पनि यस्तो गफ गर्नेहरूले गर्ने गर्छन् । तर, यो पनि सत्य होइन । अहिलेसम्म कुनै पनि एयरलाइन्सले यसको पुष्टि गरेका छैनन् । जे भएपनि, कसैलाई जीवनको लागि निः शुल्क टिकट दिनु एक कठिन निर्णय हो । त्यस्तो कुनै नियम छैन । हो, कुनै पनि एयरलाइन्सले चाहेमा त्यो गर्न सक्छ । यस्तै एउटा घटना सन् २०१६ को अगस्टमा सार्वजनिक भएको थियो ।

सेबु प्यासिफिक एयरको विमान दुबईबाट फिलिपिन्स जाँदै थियो । जहाजमा गर्भवती महिलाको अन्तिम मिति अक्टोबरमा थियो । तर, त्यही फ्लाइटमा उनलाई सुत्केरीको पीडा हुन थाल्यो । आकाशमा नै ती महिलाले समय नपुगी तर स्वस्थ छोरीलाई जन्म दिइन् । त्यसपछि जहाजको आकस्मिक अवतरण भारतको हैदरावादमा पनि गरिएको थियो । पछि सेबु प्यासिफिक एयरले बालिकालाई १० लाख गेट गो पोइन्ट दिने घोषणा गरेको थियो । सो प्वाइन्टको सट्टा बालिकाले एयरलाइन्सको टिकट जुनसुकै बेला लिन सक्ने बताइएको छ ।

नेपालमा के छ व्यवस्था ?

यस सम्बन्धमा नेपालमा हालसम्म त्यस्तो कुनै ठोस व्यवस्था भएको छैन् । नेपालको प्रमुख एयरलाइन्स कम्पनी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सामान्यता गर्भवती महिलालाई डेलिभरी हुने समयको ३ महिना बाँकी रहँदा हवाई यात्रा नगर्न सुझाव दिइन्छ । यदि सो समयमा यात्रा गर्नैपरे डाक्टरको सिफारिस अनिवार्य गरिएको हुन्छ भने उडानका क्रममा बच्चा जन्मिएमा आजीवन निशुल्क टिकट दिने भन्ने कुनै व्यवस्था नरहेको बर्तौदला बताउँछन् । बर्तौलाका अनुसार एयरलाइन्स कम्पनीले चाहेमा भने सुविधा दिन भने कसैले रोक्दैन ।

के भन्छन एयरलाइन्स ?

एयरलाइन्स कम्पनीहरु नवजात शिशुलाई उड्डयन कम्पनीले सित्तैमा टिकट दिनै नै भएपनि आमाको ज्यान जोखिममा नपार्न सुझाव दिन्छन् । हवाईजहाज यातायातको माध्यम हो, नर्सिङ होम वा अपरेशन थिएटर होइन । यसबाहेक, उडानका केबिन क्रूलाई डेलिभरीका लागि पूर्ण तालिम दिइएको हुँदैन् । यदि उडानका क्रममा बच्चाको जन्म भएमा अनावश्यक जटिलताहरू खडा हुनसक्छन् र जीवन खतरामा पनि पर्न सक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!