महाशिवरात्रिको सुरक्षामा एसपीको कमान्डमा ३५ सय प्रहरी परिचालन गर्ने निर्णय

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ | शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । 

सुरक्षा योजना अनुसार शुक्रवार साँझदेखि नै प्रहरी परिचालन गरिने छ । रिजालले भने–‘मन्दिर परिसरको कमान्ड सेन्टरमा आजबाटै प्रहरी परिचालन गर्छौँ ।’थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् ।

शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने युवायुवती, पाकेटमारा र चोरी मुख्य सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ । सो सुरक्षा चुनौतीलाई निस्तेज पार्ने गरी योजना बनाएको एसपी रिजालले जानकारी दिए । शिवरात्रिको सुरक्षाको लागि १५ जनाको दरले ८ वटा ‘रिजर्भ’ फौज तयारी अवस्थामा राखिने सुरक्षा योजनामा उल्लेख गरिएको छ । मन्दिरमा लाइन व्यवस्थापन, चोरी नियन्त्रण, गाँजा नियन्त्रण र हुलदङ्गा नियन्त्रणमा प्रहरीको मुख्य भूमिका हुने गर्छ ।

सुरक्षाका लागि ‘वाक थ्रु’ गेट र ‘डिटेक्टर’ प्रयोग गरिने भएको छ । पशुपति क्षेत्रमा ठाउँ ठाउँमा सिसिटिभी मार्फत मनिटर गरिने एसपी रिजालले बताए । त्यस्तै पशुपति क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा प्रहरीले रोक लगाएको छ । ‘गाँजा बेचेको र सेवन गरेको भेटमा कारबाही गर्छौ’ एसपी रिजालले रातोपाटीसँग भने, ‘गाँजा तान्न पाइन्छ भन्ने मान्यता छ, त्यसलाई निस्तेज गर्न ९ वटा सबकमाण्ड बनाएका छौं ।’

मेलापर्वमा हुनसक्ने घटना संशोधन गर्न प्रहरीले हेल्प डेस्क राखेको छ । बच्चा हराउने र भिडभाडमा बेहोस हुनेहरूलाई समयमै संशोधन गर्ने गरी सामुदायिक प्रहरीले काम गर्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!