महाशिवरात्रिमा पशुपति क्षेत्र वरपर कहाँ-कहाँ छ सवारी डाइभर्सन?

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ | महाशिवरात्रिमा काठमाडौंको पशुपति क्षेत्रमा दर्शनार्थीहरुको भिडभाड हुने भएकाले सवारी साधनलाई विभिन्न स्थानमा डाइभर्सन गरिएको छ। शुक्रवार रातिदेखि नै सवारी साधनलाई ‘डाइभर्ट’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाटै ‘डाइभर्ट’ गरिने भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।


त्यस्तै, मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै ‘डाइभर्ट’ गरिने भएको छ।

कुन सवारीको कुन रूट?

सवारी साधनको प्रकृति अनुसार रूटहरू मिलाइएको छ। बस तथा माइक्रोबसहरूको लागि रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोही मार्ग हुँदै रत्नपार्क फिर्ता हुन भनिएको छ।

रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशर महल, खानी विभाग, लाजिम्पाट, नारायण गोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोही मार्ग हुँदै जमलसम्म तत्पश्चात् महेन्द्र सालिक तिनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने छन्। कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानी विभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउनु पर्नेछ।

माइक्रोबस तथा ट्याम्पोहरूको हकमा भने सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा ट्याम्पोहरू महेन्द्र सालिक, कृष्ण पाउरोटी, जय नेपाल, सिंहदोबाटो, नक्साल, भगवती बहाल, सानो गौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने छन्। जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा ट्याम्पोहरू चाबहिल, नारायण गोपाल चोक, लाजिम्पाट, केशर महल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउनु पर्नेछ।

जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगंजतर्फ जाने मालवाहक सवारी साधनहरू भने चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ जानु पर्ने छ। कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने छन्।

कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन्। महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध-जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध-जोरपाटीसम्म पुग्न सक्ने छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!