बालाजुमा प्रहरीको गाडी जलाएको आरोपमा पानी बेच्ने महिलासहित थप दुईजना पक्राउ

Posted on: 16 Feb, 2023

फागुन ४, काठमाडौँ | बालाजुको माछापोखरीमा भएको प्रदर्शनमा प्रहरीको गाडी जलाएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । बुधवार साँझ पक्राउ पर्नेमा धर्मस्थली बस्दै आएकी सङ्गीता परियार र नुवाकोटका रन्जित कुमार तामाङ छन् ।


धर्मस्थली बस्ने सङ्गीता परियार माछापोखरीमा पानी बेच्छिन् । पानी बेच्दै गर्दा प्रदर्शन सुरु भएपछि प्रर्शनकारीहरुसँगै मिलेर उनले प्रहरीको गाडी जनाएको अनुसन्धानबाट थाहा भएको छ । गाडी जलाएको आरोपमा पक्राउ परेका रञ्जित कुमार तामाङ चाहिँ सवारी चालक हुन् । 

प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

गाडी जलाएको र ट्राफिक आइल्याण्ड तोडफोड गरेको आरोपमा प्रहरीले बुधवार ६ जनालाई सार्वजनिक गरेको थियो । आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा उदयपुर घर भएका ४० वर्षीय विक्रम राई, नुवाकोटका ३० वर्षीय रामहरि भण्डारी, लमजुङ घर भएका २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, प्युठान घर भएका १८ वर्षीय दीपेन्द्र पुन मगर र काभ्रेका  २० वर्षीय आशिष् खड्का छन् ।

उनीहरू विरुद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २६ को दफा–२८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!