थप पाँच प्रजातिका चरा फेला

Posted on: 15 Feb, 2023

फागुन ३, गुल्मी | गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरा फेला परेका छन् । 

पक्षी संरक्षण सङ्घ गुल्मीले रेसुङ्गामा चरासम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन् । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये हाल २९ प्रतिशत यहाँ पाइने गरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो । 

योसँगै रेसुङ्गामा दुई सय ५८ प्रजातिका चराहरु छन् । यसअघि दुई सय ५३ प्रजातिका थिए । यहाँ विश्वकै दुर्लभ मानिएका रणमत्त महाचील, चील, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्धहरु पाइन्छन् ।

चराको अध्ययनपछि पुस्तक विमोचन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा चरासँगै ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल भएको बताउनुभयो । उहाँका अनुसार यस क्षेत्र चराहरुको बासस्थान बन्दै गएको छ ।

यस क्षेत्रमा दुर्लभ चरा भेटिए पनि जलवायु परिवर्तनका कारण जोगाइराख्न चुनौती रहेको सङ्घले जनाएको छ । रेसुङ्गामा वन संरक्षण क्षेत्रको जङ्गल सात हजार नौ सय तीन हेक्टर क्षेत्रफल छ ।

यहाँ दुई सय ५८ चरासँगै, एक सय २५ वनस्पति, ७१ जडीबुटी, २५ स्तनधारी, १९ पुतली, १९ सरिसृप, ११ माछा र छ प्रजातीका उभयचय छन् । रेसुङ्गालाई सन् २००५ मा महत्वपूर्ण चराको क्षेत्रका रुपमा पहिचान गरिएको थियो । सामुन्द्रिक सतहदेखि दुई हजार तीन सय ५० मिटर उचाइमा रहेको रेसुङ्गा क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र मानिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!