संसद् भवनअगाडि आत्मदाको प्रयास गरेका आचार्यको निधन

Posted on: 25 Jan, 2023

माघ ११, काठमाडौँ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो ३ बजेतिर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा निधन भएको छ ।  कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको निधन भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले संसद् भवनअगाडि नै शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गर्दा स्थानीय र सुरक्षा कर्मीले बचाउने प्रयास गरेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।उनको शरीरको ८० प्रतिशत भाग जलेको कारण अवस्था गम्भीर अवस्थामा रहेको थियो । 


जलेर घाइते भएका आचार्यले मंगलबार साँझ उपचारकै क्रममा रहंदा भेट्न पुगेकी राज्यमन्त्री तोसिमा कार्कीसँग गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डलाई भेट्ने चाहना व्यक्त गरेका थिए ।आचार्यले आफैँलाई आगो लगाउनुअघि  फेसबुकमा लामो स्टाटस लेखेका थिए । जसमा देशमा व्याप्त बेथितिको कुराहरु छन् । उनले लेखेको स्टाटसमा आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको गुनाशो छ । साथै देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो छ । अन्तिममा डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै उनले मृत्युको बाटो रोजेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!