धनुषामा अर्धनग्न अवस्थामा महिलाको शव फेला

Posted on: 13 Sep, 2022

भदौ २८, धनुषा | धनुषाको सहिदनगर नगरपालिका-३ यदुकूहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीया एक महिलाको शव भेटिएको छ । मंगलबार बिहान स्थानीयवासीले नहरको डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


मृतक महिला शहिदनगर नगरपालिका– ३, यदुकुहा बजार निवासी रहेको बताइएको छ । शवको प्राकृतिक हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिएको घटनास्थलमा पुगेका एक प्रहरीले जानकारी दिए । प्रहरी उपरीक्षक बसन्त रजौरेसहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको छ । प्रहरीका अनुसार लाश फेला परेको ठाउँमा अहिले प्रहरीले घेरा हालेको छ । धनुषा प्रहरीका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेका छन् । कुकुरले लाश सुँघेपछि गाउँतिर गएको छ । प्रहरीले कुकुरको मद्दतले घटनामा संलग्नको खोजी गर्दैछन् ।

‘बजारमा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । मृतक महिला साँझ ६/७ बजे मेला हेर्न घरबाट निस्केकी थिइन्,’ मृतककी सासूले भनिन्, ‘अबेरसम्म घर नफर्केपछि बुहारी खोज्न मेलामा गयौं तर त्यहाँ भेटिएन, मेले हेरेर घर आउँछे होला भन्ने सोच्यौं तर बिहानै बुहारीको लास भेटिएको खबर पाएँ ।’

मृतकको घरबाट केही दूरीमा रहेको स्कुलमा सोमबार राति मेला र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । मेलाकै मौका छोपेर उनको बलात्कार गरी हत्या भएको हुन सक्ने स्थानीयले बताए ।  मृतक महिलाको ३ वर्षीया एक छोरी छिन भने उनको श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!