पर्वतमा मुलुककै पहिलो सिसैसिसाको 'स्काइ ब्रिज'

Posted on: 07 Mar, 2022

फागुन २३, पर्वत । सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) यहाँ सञ्चालनमा ल्याइएको छ । कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोँचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज उद्घाटन गर्नुभयो । कुस्मास्थित हार्नेस जिपलाइन प्रालीले टिकटक पारखीका लागि लक्ष्य गरेर मुलुकमै पहिलो पटक यस्तो पुल  निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिनुभयो । कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेर्दा डर लाग्नाका साथै आनन्द पनि लिन सक्नेगरी पुल बनाइएको हो ।

एकैपटकमा १०० जनासम्मले स्काइब्रिजको वारपार  गर्नसक्ने उहाँको भनाइ थियो । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । “हामीले नेपालका लागि पहिलो सिसाको पुल बनाएका हौँ”, उहाँले भन्नुभयो, “अहिले युवाको आकर्षण टिकटकमा भएका कारण यसले टिकटक बनाउन युवायुवतीलाई आकर्षण गर्ने विश्वास लिएका छौँ ।”

स्काइब्रिजमा पसेर नाच्न र गाउँन पनि सकिने छ । अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविश्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको निर्देशक बस्नेतले बताउनुभयो । स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ ।

हार्नेस प्रालीले कुस्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको उहाँको भनाइ थियो ।कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जीपलाइनमा आउने इच्छा गर्दै समय बुक गराउनेक्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताउनुभयो । 

“बन्जी, स्वीङलगायत साहसिक खेलभन्दा जीपलाइनमा केही कम डर हुने अनुभव जीपलाइनमा बगेकाले सुनाएका छन् । जीपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ”, उहाँले भन्नुभयो । जीपलाइनका लागि रु तीन हजार ५०० शुल्क तोकिएको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । एक हजार ४८० मिटरको दूरी पार गरिसक्दा नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जीपलाइन ल्यान्डिङ हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!