आज कृषि कार्यको सुरुआत मान्दै मिथिलाञ्चलमा हलो र गोरुको पूजा

Posted on: 06 Feb, 2022

माघ २३, जलेश्वर | श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित  मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै हलो र गोरुको पूजा गर्ने गरेका छन् । 

किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित हलो राखेर पूजाआजा गरेका छन् । घर बाहिर गोरुलाई नुहाएर रङ्गीचङ्गी डोरी लगाएर पूजा गरेका छन् ।

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलन छ । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्न लगाउने तथा बाच्छोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन छ । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औँजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने चलन छ । 

श्रीपञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एक आपसमा अबीर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन् । मिथिलाञ्चलका किसान आजका दिनदेखि आफ्नो खेतीपाती सुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ गर्दछन् । 

हलो गोरु पूजाको अवसरमा मिथिलाञ्चलको गाउँ गाउँमा सयौं गोरु एक्कैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरै रुपमा राखेर गइरहेको दृश्य देख्न सकिन्छ । हलो र गोरु पूजा जलेश्वरलगायत जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा एकसाथ गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!