महोत्तरीको जनसङ्ख्या वृद्धिदरमा किन कमी ?

Posted on: 01 Feb, 2022

माघ १८, महोत्तरी | मधेस प्रदेशको लगभग माझमा पर्ने महोत्तरीमा जनसङ्ख्या वृद्धिदर घटेको छ । एक साताअघि सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा जिल्लाको जनसङ्ख्या दर २०६८ को तुलनामा घटेको हो । 

जिल्लामा यसपालिको तथ्याङ्कमा जनसङ्ख्या वृद्धिदर एक दशमलव तीन (१.३) प्रतिशत छ । यसअघि २०६८ को राष्ट्रिय जनगणनामा यो दर एक दशमलव चार (१.४) थियो । मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यो दर प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा कम भएको जनाएको छ । 

पछिल्लो तथ्याङ्कअनुसार बितेको १० वर्षमा जिल्लामा जनसङ्ख्या ८७ हजार ४६० बढेको छ । यसअघि (२०६८) को राष्ट्रिय जनगणनामा जिल्लाको जनसङ्ख्या छ लाख २७ हजार ५८० थियो भने यसपालिको गणनामा यो सङ्ख्या सात लाख १५ हजार ४० देखाइएको छ ।

दुई राष्ट्रिय जनगणनाको बीच अवधिमा महिलाभन्दा पुरुषको सङ्ख्या बढेको छ । मुलुकभरिको गणनामा महिला बढी भए पनि महोत्तरीमा भने पुरुष बढी देखिएका छन् । 

२०६८ मा तीन लाख ११ हजार १६ रहेको पुरुष सङ्ख्या यसपालि ४३ हजार ९३६ बढेर अहिले तीन लाख ५४ हजार ९५२ पुगेको छ । यसैगरी २०६८ मा तीन लाख १६ हजार ५६४ रहेको महिला सङ्ख्या यसपालि २३ हजार २०६ बढेर अहिले तीन लाख ३९ हजार ७७० पुगेको तथ्याङ्कमा उल्लेख छ । २०६८ मा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहे पनि यसपालि पुरुष बढेका छन् । यसपालि महिला सङ्ख्या १५ हजार १८२ ले घटेको हो । यसअघि २०६८ मा महिलाको सङ्ख्या पुरुषभन्दा पाँच हजार ५४८ ले बढी थियो ।

“यसपालि २०६८ भन्दा ८७ हजार ४६० जनसङ्ख्या बढेको देखिन्छ, यसमा कतिपय बसाइँ सरेर आएका भए पनि अधिकांश चैं नयाँ जन्मेकै हुनुपर्छ,” महिला अधिकारकर्मी तथा स्वास्थ्य स्वयंसेविका भङ्गाहा–४ की दीपमायाँ श्रेष्ठ भन्नुहुन्छ, “२०६८ भन्दा पुरुष करिब ४४ हजार बढेका छन्, जबकि महिलाको बढेको सङ्ख्या यो तुलनामा झन्डै आधा छ ।” 

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये यसपालिको गणनामा सबैभन्दा बढी जनसङ्ख्या गौशाला नगरपालिकामा ७३ हजार आठ र सबैभन्दा कम एकडारा गाउँपालिकामा ३२ हजार ६० देखाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!