बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी

Posted on: 16 Jan, 2022

माघ २, राँझा | बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

लुम्बिनी प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गरेको रोडकरिडोर कार्यक्रमबाट बाँकेका सयौं किसान लाभान्वित भएका छन् । गत आर्थिक वर्षमा रु ५० लाख अनुदानमार्फत सञ्चालनमा ल्याएको यो कार्यक्रम बाँकेमा प्रभाबकारी बन्दै गएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस कार्यक्रमअन्तर्गत बाँकेका किसानले अहिले बारीमा गोलभेडा, काउली, फूलगोभी, बेमौसमी काँक्रा उत्पादन गरेका छन् । चालु आर्थिक वर्षमा भने रकम घटेर आए पनि किसानले आफ्नो उत्पादनलाई घटाएका छैनन् । यो कार्यक्रमअन्तर्गत ५० हेक्टर क्षेत्रफललाई समेटिएको छ । कार्यक्रमले किसानका लागि आवश्यक पर्ने सिँचाइ, पम्पसेट, पावर टेलर, डेलिभरी पाइप, बीउलगायत आवश्यक परेको कृषि सामग्री अनुदानमा दिने गरिएको छ । 

यस कार्यक्रममा कृषि सहकारी, कृषि समूह, निजी कृषि फार्मका किसान सहभागी छन् । तीन वर्षसम्म सञ्चालन हुने यो कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको केन्द्रका प्रमुख ढकालले बताउनुभयो । कार्यक्रमको प्रभावकारिताका लागि प्राविधिकबाट निरन्तर रुपमा अनुगमन भइरहेको उहाँको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!