सेवाग्राहीमैत्री प्रशासनः रातिसम्मै काम हुन्छ जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा

Posted on: 13 Jan, 2022

पुस २९, सोलुखुम्बु | पुस महिनाको दिन, साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटलपसलको ढोका ५.३० बजे नै बन्द हुनका साथै सडकमा चहलपहल ह्वात्तै घट्छ । 

अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकीको खाना खाएर सुत्ने तरखरमा हुन्छन् । तर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा भने राति आठ बजेसम्म सेवा प्रवाह हुन्छ । पुस महिनामा सरकारी कार्यालय समय बिहान १० देखि ४ बजे सम्म हो । अधिकांश सरकारी कार्यालयका कर्मचारीले चार बज्ने वित्तिकै कार्यालय समय सकिएको भन्दै सेवाग्राहीको बाँकी काम भोलि बिहान १० बजे हुने जवाफ दिँदै ढोका बन्द गर्छन् ।

सरकारी कर्मचारीको यस्ता व्यवहार देखेभोगेका ग्रामीण क्षेत्रका नागरिक जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्दा फरक अनुभूति हुने गरेको सुनाउँछन् । तल्लो तहका कार्मचारीदेखि प्रमुख जिल्ला अधिकारी सम्मको व्यवहार र सेवा प्रवाह गर्ने शैलीले सेवाग्राही प्रफुल्लित मुद्रामा कार्यालयबाट निस्कन्छन् । आइतबार साँझ ६ बजेको समयमा थुलुङ दूधकोशी गाउँपालिका–६ का सूर्य बानियाँ पेन्सनपट्टाको लागि सिफारिस लिँदै गरेको अवस्थामा प्रशासन कार्यालयमा भेटिनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलगायत अन्य कर्मचारीसमेत त्यो समयमा पनि कार्यालयकै काममा व्यस्त हुनुहुन्थ्यो ।

सेवाग्राही बानियाँले धन्यवाद दिँदै भन्नुभयो, “हजुर जस्तो सिडिओ साब अनि अन्य सबै कार्यालयका कर्मचारी यस्तै भएको भए त गाउँघरका हामी जस्ता मानिसले कत्ति सहजै सेवा पाइन्थ्यो हजुर ।” सेवा गर्ने इच्छाशक्ति भए समयले नछेक्ने बानियाँको बुझाइ छ । “यहाँ राष्ट्रसेवक कर्मचारी १० नबजेर कार्यालय नजाने र ४ नबज्दै सेवाग्राहीको बेवास्ता गर्दै निस्कने प्रथाले सानो कामले गर्दा पुनः अर्को दिन त्यही कार्यालयमा जानुपर्छ”, बानियाँले भन्नुभयो, “सोलुखुम्बु प्रशासनजस्तै अन्य ठाउँका कार्यालयले पनि सिक्नुपर्छ र मन्त्रालय अनि नेपाल सरकारले पनि यस्ता कर्मचारीलाई छट्टै मूल्याङ्कन गरी पुरस्कार दिने व्यवस्था गर्नुपर्छ ।”

नागरिकको सेवामा कार्यालयको समय मात्र नभनिकन काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुनुपर्ने उहाँको माग छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्ने जोकोहीले पनि अहिले कर्मचारी र कार्यालयको सेवा प्रवाहप्रति खुसी व्यक्त गर्छन् । सीमित जनशक्तिको बीचमा पनि सेवा प्रवाह सहज र सरल बनाइँदा कर्मचारी धन्यवादका पात्र बनेका छन् ।

दैनिक दुई सय जना सेवाग्राही विभिन्न सेवा लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेका छन् । हाल कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित दुई खरिदार, एक लेखापाल, दुई कम्प्युटर अपरेटर र एक सहायक प्रमुख जिल्ला अधिकारी कार्यरत छन् । चार नायब सुब्बा, एक लेखापाल र दुई खरिदारको पद खाली रहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो । कर्मचारी अभावले गर्दा जिल्ला कारागारका प्रमुख प्रशान्तकुमार महतोलाई समेत सहयोग माग्ने गरेको उहाँको भनाइ छ । प्रमुख महतोले पनि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिकको सेवा गर्न पाएकोप्रति खुसी व्यक्त गर्नुभयो ।

 कार्यकक्षमै चिया खाजा खाँदै सेवा दिँदै

विभिन्न कार्यालयमा सूचना नै टाँसेर चिया खाजा खाने समयमा सेवाप्रवाह बन्द गरिन्छ । तर सोलुखुम्बु प्रशासनका कर्मचारीले भने चिया, खाजासमेत कार्यकक्ष मै खान्छन् । चिया खाजा खाँदै सेवा दिने यहाँको अर्को प्रशंसायोग्य कार्य रहेको कर्मा शेर्पाले बताउनुभयो । 

बाहिर होटलमा चिया खाजा खान जाने समयमा सेवाग्राहीले कुर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि कार्यकक्षमा नै चियाखाजाको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो । कार्यकक्षमा नै चिया र स्थानीय उत्पादनबाट बनेको खाजा खाँदै सेवा प्रर्वाह गर्ने यहाँका कर्मचारीलाई न त समयको मतलब छ, न त कमिसनको ? 

कार्यालयमा आएका सेवाग्राहीलाई समयमा नै सेवा दिने ध्यानले थुलुङ दूधुकोशी गाउँपालिकाका–७ का जगतबहादुर केसीलाई पनि प्रभावित बनायो । उहाँले भन्नुभयो, “सोलुखुम्बु प्रशासनको कर्मचारीलाई सम्मान छ, यसैगरी अरुले पनि सिकुन र नेपाल सरकारले पनि केही नयाँ योजना बनाउन सकोस् ।” जिल्ला प्रशासन कार्यालयले स्थानीय उत्पादनलाई जोड दिँदै यहाँका नागरिकलाई त्यसप्रति आकर्षित गराउने अर्को उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी शाहीको भनाइ छ ।

गृह मन्त्रालयबाट पहिलोपटक जिल्लामा प्रमुखको जिम्मेवारी समाहल्नु आउनुभएका शाहीले नागरिकमैत्री सेवा दिने गरेको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । अरुले के गर्छ भन्दा पनि आफूले के गर्छु भन्ने भावनाका साथ काम गर्नुपर्छ । विस्तारै सकारात्मक परिवर्तन हुन्छ भन्ने सोचाइका प्रजिअ शाहीले पहुँचको आधारमा नभइ कानुनको आधारमा सेवा प्रवाह हुनेगरेको बताउनुभयो ।  

पहिलेको र अहिलेको प्रशासन

सीमित स्रोतसाधनको सही सदुपयोगसँगै व्यवस्थापन गर्न सकेको खण्डमा धेरै बजेट आवश्यक नपर्ने प्रजिअ शाहीको भनाइ छ । नागरिक मैत्री सेवाका लागि कार्यालय वरपरको वातारणलेसमेत प्रभाव पार्ने भन्दै प्रजिअ शाहीले अशक्तलाई लक्षित गरी भ¥याङमा रेलिङ लगाउनेदेखि चिसो तथा तातो पानीकोसमेत व्यवस्था रहेको छ ।

गोदाम घर निर्माणदेखि पर्खालसमेत लगाएर यहाँको वातावरणमा थप रौनकता थपिदाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गणेश विक्रम शाही धेरै पहिला आउनुपर्ने र लामो समयसम्म बस्नुपर्ने स्थानीय व्यापारी मनिकुमार राईको भनाइ छ । “विगतको दिनमा छिट्टै घर जाने कर्मचारी अहिले त रातिसम्म देखिन्छ”, प्रशासनकै गेट अगाडि फेन्सी व्यापार गर्नुहुने राईले भन्नुभयो, “अब आउने प्रशासकले यसलाई निरन्तरता दिन आवश्यक छ ।”

रचनात्मक कामको सुरुआत ः गृह मन्त्रालय

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरलाले सोलुखुम्बु प्रशासनको कार्यको मूल्याङ्कन हुने बताउनुभयो । तत्काल कर्मचारीको लागि कुनै थप सेवा सुविधा उपलब्ध गराउने कार्यक्रम नभए पनि यस विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । “सोलुखुम्बुमा रचनात्मक कामको थालनी भएको छ”, उहाँले भन्नुभयो, “यस विषयमा हामी जानकार छांै, यसको उचित मूल्याङ्कन हुन्छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!