आगलागी पीडितलाई नगद र न्यानो कपडा सहयोग

Posted on: 01 Dec, 2021

मंसिर १५, मुगु | मुगु गमगढीका आगलागी पीडित परिवारलाई छायानाथ रारा नगरपालिकाले आर्थिक सहयाेग र लायन्स क्लब अफ रारा मुगुको आग्रहमा लायन्स क्लब अफ नेपालले न्यानो ओड्ने लुगा सहयोग गरेकाे छ । 

नगरपालिकाले छायानाथ रारा नगरपालिका-१ तल्लो बजारका आगलागी पीडित १९ परिवारलाई प्रतिपरिवार ४० हजार रुपैयाँ र भाडामा व्यवसाय गरेर बसेका २५ व्यवसायीलाई प्रति व्यवसायी २० हजारका दरले सहयाेग गरेकाे छ । यस्तै कोठा भाडामा बसेका परिवारलाई प्रति परिवार १० हजारका दरले सहयोग गरेकाे प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताए । 

यस्तै, गत बर्ष भारतको उत्तराखण्ड चमौली जिल्ला तपोवन भन्ने ठाँउमा हिउँ पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई पनि नगरपालिकाले प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग गरेको नगरपालिकाका खरिदार हिमबहादुर बढुवालले बताए । विभिन्न निकायबाट लत्ताकपडा, भाडाकुडा र खाद्यन्न सहयोग भए पनि आगलागी पीडित परिवारसँग नगद नहुँदा उनीहरूको दिनचर्या कठिन बनेकाले नगद सहयोग गरेको नगरप्रमुख हरिजंग शाहीले बताए । मंगलबार आगलागी पीडितलाई लायन्स क्लब अफ रारा मुगुले कम्बल र सिरक वितरण गरेको थियाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!