ब्लड नभएको ब्लड वैंक

Posted on: 18 Aug, 2016

गणेश सिर्पाली/भदौ २, रुकुम । रुकुममा ३ महिना अँघि जिल्ला अस्पतालमा ब्लड वैंक स्थापना गरिएपनि सेवा अझै सुरु हुन सकेको छैन । 

अन्तराष्ट्रिय युवा दिवशको अवसरमा जिल्ला युवा समन्वय समिति रुकुमको आग्रहमा साउन २१ गते ८ जनाले काठमाण्डौं र ३ जनाले दाङमा रक्तदान गरेका छन । रुकुममा रक्तदान गर्ने व्यवस्था नहुँदा जिल्ला बाहिर रक्तदान गराइएको हो । 

नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले जिल्ला अस्पतालमा स्थापना गरेको रक्त सञ्चार केन्द्रमा खोजेको बेला रगत नपाइँदा विरामीले थप समस्या झेल्दै आएका छन् । रक्त सञ्चार केन्द्र स्थापना भएपछि सजिलो हुने आशमा बसेकाहरु ब्लड वैङ्क स्थापना भएको ३ महिना वितिसक्दा समेत नियमित नहुँदा समस्यामा छन् । 

रक्त सञ्चार केन्द्र आवश्यक पर्दा मात्रै खोल्ने गरिएको एक कर्मचारीले जानकारी दिनुभयो । 

गत जेठ १९ गते विश्व रक्तदाता दिवश अवसर पारी रक्त सञ्चार केन्द्र स्थापना गरिएको थियो । केन्द्र स्थापना गरिएको लामो समयसम्म पनि त्यसको लागि आवश्यक सामग्री प्रयोगमा नआउँदा समस्या भैरहेको जिल्ला असपताल प्रमुख डाक्टर क्षितिज सापकोटाले जानकारी दिनुभयो । आवश्यक सामग्री प्रयोग नहुँदा रगत संकलन गर्ने सक्ने अवस्था अहिले नरहेको डाक्टर सापकोटाले बताउनुभयो । 

रक्त सञ्चार केन्द्र हुनु र नहुनुमा केही फरक छैन । रगत चाहिएको बेला दौडेर सेना, प्रहरीलाई वा रेडक्रसलाई रगत दान गर्ने मान्छे खोजिदिन आग्रह गर्नुपर्ने पूरानै अवस्था कायमै छ ।

यता रेडक्रस सोसाइटी रुकुम शाखाले भने रक्त सञ्चार केन्द्रमा रगत संकलन हुने गरेको दावी गरेको छ । रेडक्रस रुकुमका शाखा सभापति शिवराम खत्रीले रक्त सञ्चार केन्द्रमा एक÷दुई पोका रगत भैराख्ने गरेको जानकारी दिनुभयो । केन्द्र नियमित रुपमा सूचारु रहेको भन्दै सभापति खत्रीले रगत पनि स्टोर भैरहेको दावी गर्नुभयो । 

रक्त सञ्चार केन्द्र स्थापनाको लागि जिल्ला अस्पतालले छुट्याएको रकम भुक्तानि नहुँदा ५० हजार रुपैयाँ फ्रिज भएको जिल्ला अस्पतालले बताएको छ । रक्त सञ्चार केन्द्र स्थापना गर्न आर्थिक वर्ष २०७२÷०७३ मा छुट्याइएको ५० हजार रुपैयाँ रेडक्रसले भुक्तानि नलिँदा फ्रिज भएको अस्पताल प्रमुख डाक्टर सापकोटाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!