अनुगमनको क्रममा दुई फार्मेसी सिल, दुईको कागज जफत

Posted on: 07 Oct, 2021

असोज २१, उदयपुर | औषधि व्यवस्था विभाग विराटनगरको टोलीले अनुगमनको क्रममा कटारी बजारका दुईवटा फार्मेसीमा सिल गरेको छ भने दुईवटाको कागजपत्र जफत गरेको छ ।

अर्काको लाइसेन्स भाडामा लिएर फार्मेसी खोल्ने र मृत्यु भइसकेका मानिसको नामको लाइसेन्समा औषधि पसल गरेका तथा म्याद गुज्रिएका औषधि बिक्री गर्ने पसल सिल गरेको हो । 

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै निश्चित रकम लिएर भाडामा लाइसेन्स लगाउने र फर्मासिस्ट पढेका प्राविधकहरू अन्यन्त्र काम गर्ने गरेको भेटिएपछि कटारीका दुईवटा फार्मेसी सिल गरिएको र दुईवटाको कागज जफत गरिएको विभागले जनाएको छ ।

विभागको टोलीले अनुगमनको क्रममा कटारी बजारका देव मेडिको र पूर्ण दुर्गा मेडिकल हल सिल गरिए जानकारी दिएको छ । बारा मेडिकल हल र साझा पोलिक्लिनिकको कागजात जफत गरिएको बताइएको छ । देव मेडिकोबाट म्याद गुज्रेको भिटाजिक्स दुई बट्टा, कोडेसोफ्ट इपो पाँच बट्टा र दुई बोतल स्यानिटाइजर जफतसहित पसल सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ । त्यसैगरी बारा मेडिकलमा भिटाजिक्स दुई बट्टासहित पसलको कागजपत्र जफत गरेको छ ।


एक दर्जनभन्दा बढी पसल अनुगमन गर्ने क्रममा एउटा पसलमा मृत्यु भएका व्यक्तिको नाममा पनि फार्मेसीको लाइसेन्स भेटिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । औषधिको बिक्री वितरण गर्दा ‘फर्मासिस्ट’ (व्यवसायी) अनिवार्य रूपमा औषधि पसलमा बस्नुपर्ने व्यवस्था औषधि व्यवस्था विभागले गरेको भए पनि कमिसनको लोभमा आफ्नो लाइसेन्स भाडामा लगाएर अन्यन्त्र काम गर्ने गरेको पाइएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!