नवभिजन लघु जलविद्युत र पोखरावासी विचको विवाद साम्य

Posted on: 16 Aug, 2016

गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुमको पिपल १ मा रहेको नवभिजन लघु जलविद्युत आयोजना र पोखरावासी विचको विवाद मिलेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा २ पक्षविचमा भएको छलफलले विद्युत आयोजना र पोखरावासीमा उत्पन्न विवाद मिलाएको हो । 

नियमित रुपमा विद्युत आपुर्ती नहुनु र अनिवार्य शेयर लगानी गनुपर्ने आयोजनाको बाध्यकारी नियमका कारण २ पक्षविचमा केहि महिना देखी विवाद सृजना भएको थियो । दुई पक्षिय छलफलमा पोखरा १, २, ३ र ४ का उपभोक्ताबाट एकमुष्ट १० लाख शेयर लगानी गर्ने समझदारी बनेको छ । 

भाद्र १० गते भित्र उक्त रकम आयोजनालाई बुझाउन नसके आयोजनाले नै प्रति उपभोक्ता ५१ सयका दरले रकम उठाउने, आर्थीक अवस्था कमजोर भएकाबाट ६ सय रुपैंया शुल्क लिएर ग्राहक बनाउने र एकैचोटी ५१ सय रुपैंया दिन नसक्ने ग्राहकबाट किस्तामा रकम असुल्ने निर्णय भएको छ । 

त्यस्तै सम्पुर्ण उपकरण मर्मत तथा खरिद आयोजनाले नै गर्ने, आवश्यकता अनुशार पोखराबाट प्रतिनिधित्व हुनेगरी कार्य समितिमा राख्ने, अहिले बन्द रहेको विद्युत सेवा आगामी भाद्र २ गतेबाट सुचारु गर्नेपनि सहमति भएको छ । सहमति अनुशार पोखरामा भने भाद्र ३ गते मात्र बत्ति बल्ने भएको छ । 

आयोजनाको तर्फबाट उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र वहादुर मल्ल र उपभोक्ताहरुको तर्फबाट नेपाली कांग्रेसका मन वहादुर खत्री, नेकपा एमालेका पसुपति खड्का र नेकपा माओवादी केन्द्रका खिमानन्द पौडेलले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!