बागलुङ : जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

Posted on: 24 Jun, 2021

खेमराज गौतम, असार १०, गलकोट (रासस) । बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण पार्किङस्थल कालोपत्रेको काम रोकिएको थियो । बसपार्कले अन्तिम रूप लिए पनि कालोपत्रेमा ढिलाइ भएको थियो । मौसममा सुधार आएसँगै मङ्गलबारदेखि बसपार्क कालोपत्रेको काम शुरु भएको यो काम मौसमले साथ दिए दुई दिनमै सकिने निर्माण कम्पनीले जनाएको छ ।

बसपार्क निर्माणका लागि १९ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेका थिए । । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माणले जनप्रतिनिधिको आगमनसँगै २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा गति लिएको थियो ।

ठेक्का स्वीकृत भएको साढे दुई वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएका नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन । 

बागलुङ–४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीय ५२ जग्गादाताले निःशुल्क उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम लगभग सकिएको नगरपालिकाका इन्जीनियर मनोज शर्माले जानकारी दिनुभयो । “बसपार्कमा निर्माणको काम लगभग सकिएको छ, रङ्गरोगन, विद्युत् जडान भइसेको छ, बाँकी आठ प्रतिशत प्रगति थियो, त्यो पनि पार्किङस्थलको कालोपत्रे शुरु भएको छ”, शर्माले भन्नुभयो, “मौसमले साथ दिएमा एक हप्ताभित्रै बसपार्कको काम सकिनेछ र त्यस लगत्तै सञ्चालनमा आउने छ ।” डेढ वर्षमा सकिने बसपार्क कोरोनाका कारण साढे दुई वर्षमा सकिएको हो । 

विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महिना म्याद थपिएको हो । पुनः कोरोनाको कारण देखाउँदै छ महिना म्याद थपिएको थियो ।  अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङस्थल कालोपत्रेसमेत भइरहेको छ ।  

कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि बसपार्क निर्माणको कामले अन्तिम रूप लिएको निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिनुभयो । 

नगरवासीको १९ वर्षदेखिको आधुनिक र व्यवस्थित बसपार्क निर्माणको सपना पूरा गर्नु ठूलो सफलता भएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । “१९ वर्ष पहिला करोडौँ मूल्यको जग्गा नगरपालिकालाई दिइएको थियो तर जनप्रतिनिधिविहीन हुँदा काम हुन सकेको थिएन, अहिले बसपार्क हस्तान्तरणको चरणमा पुगेको छ, एक हप्तामै सबै काम सकिनेछ”, नगर प्रमुख पौडेलले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियौँ, अहिले लगभग निर्माण सकिएको छ, यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफलसमेत शुरु गरेका छौँ, छिट्टै सञ्चालनमा आउनेछ ।” 

स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ वटा घडेरी निर्माण गर्ने गरी नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो । लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा स्थानीयवासी निराश थिए ।

ढिलै भए पनि बसपार्क बनेकोमा खुसी भएको जग्गादाता गुणनिधि शर्माले बताउनुभयो । धान फल्ने जग्गा नगरपालिकालाई बसपार्क बनाउन दिएको १९ वर्षपछि बल्ल सपना साकार भएको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिनुभयो । 

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन । टर्मिनल भवनको भुइँ तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।  नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!