१ लाख संक्रमित घरमै

Posted on: 17 May, 2021

 जेठ ३, काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप्त परामर्श व्यवस्था नहुँदा मानसिक समस्यासमेत देखिन थालेको छ ।

कतिपय ठाउँमा होम आइसोलेसनमा बसेका संक्रमितले जनस्वास्थ्य मापदण्ड पालना नगर्दा थप जोखिम बढेको देखिएको छ । तर, स्थानीय सरकारले पनि उनीहरूको निगरानी गरेको पाइएको छैन ।

स्वास्थ्य मन्त्रालयले २० जेठ २०७७ मा कोभिड–१९ आइसोलेसन व्यवस्थापन निर्देशिका जारी गरेको थियो । होम आइसोलेसन बस्दा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउन, उपचार अवधिभर बाहिर ननिस्किन र आवश्यक सामग्री परिवारका सदस्यमार्फत मगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार प्रत्येक दिन कम्तीमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमसमार्फत जानकारी गराउनुपर्छ । तर, यो अवस्था कार्यान्वयनमा आउन भने सकेको छैन ।

त्यस्तै, होम आइसोलेसन बस्दा भाँडाकुँडा, कपडा धुन पञ्जा लगाउनुपर्ने उल्लेख छ । घरमा रहेका बिरामी नियमित अनुगमन गर्ने भनिए पनि त्यसो हुन सकिरहेको छैन । 

यो समाचार आजको राजधानी दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!