कर्णालीमा बेपत्ता थप दुईको शव फेला

Posted on: 09 Mar, 2021

फागुन २५, दैलेख । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका ५ जना मध्ये ४ जनाको शव फेला परेको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

मंगलबार ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा सोमबार भेटिएको थियो । 

५ वर्षीया छोरी रजनी बडुवाल भने अझै बेपत्ता छिन् । उनीहरुको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।

मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ । 

नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!