एक महिनाअघि क्वारेन्टाइनबाट भागेका थिए बाँकेका कोरोना संक्रमित

Posted on: 01 May, 2020

वैशाख १९, बाँके । बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि क्वारेन्टाइनबाट भागेको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि  भएका बाँकेका ५० वर्षका ती व्यक्ति लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।

भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भाग्दा उनी पनि भागेका प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनी डीएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । लकडाउनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या भएपछि भने उनी रमजानको शुरुआतीसँगै मस्जिदमा बस्ने गरेका थिए ।

उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ ।

जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द (सिल) गरेको छ । नेपालगन्जको डीएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको छ । नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन् ।

नेपालगञ्ज धम्बोझीका अर्का एक युवकमा पनि सङ्क्रमणको आशंका गरिएपछि सो क्षेत्र बन्द गरिएको हो । ती युवक धम्बोझीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका उनी लामो समयदेखि घर छाडेर मस्जिदमा बस्दै आएका छन् ।

उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाब संकलन गरी जाँच गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रहरीको स्कर्टिङमा एम्बुलेन्समा राखेर उनलाई खजुरास्थित आइसोलेसन वार्डमा लगिएको हो । सङ्क्रमित एम्बुलेन्ससम्म सामान्य रुपमा हिँडेरै आएका थिए ।

सङ्क्रमितले नेपालगञ्ज –८ स्थित मस्जिदमा सहायकका रुपमा काम गर्दै आएका छन् । रमजान शुरु हुनु केही दिनअघि मात्र उनी मस्जिदमा बस्न थालेको प्रहरी स्रोत बताउँछ ।

लकडाउनका अवधिमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा उनी रमजानको शुरुवातीसँगै मस्जिदमा बस्थे । मस्जिदका इमामको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!